हेटौंडाः मकवानपुरे साहित्यकार स्वर्गीय खेम बानियाँको स्मृतिमा विशेष कार्यक्रम सम्पन्न भएको छ । शनिबार साहित्य संगम मकवानपुरको ३५१ औं नियमित साहित्य सन्ध्याको अवसरमा खेम बानियाँ स्मृति विशेष कार्यक्रम आयोजना गरिएको हो ।
साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालको अध्यक्षता तथा संगम सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संगमको सहसचिवको जिम्मेवारी सम्हाल्नुभएको बानियाँको २०५४ साल माघ १० गते सवारी दुर्घटनाबाट अल्पायुमै निधन भएको थियो ।
कार्यक्रमलार्र्ई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि घिमिरेले खेम बानियाँ एक लेखकमात्रै नभएर प्रभावशाली पत्रकार, राजनीतिज्ञ, सामाजसेवी भएको बताउनुभयो । मकवानपुरमा सूत्रकथाको क्षेत्रमा स्व. बानियाँको ठूलो भूमिका रहेको उहाँले जानकारी दिनुभयो । उहाँको सृजना पढ्दा उहाँको व्यक्तित्व झल्किने घिमिरेको भनाइ छ ।
कार्यक्रममा राजकुमार चौधरी, राजाराम राउत, मसान उपासक, देबराज तिवारी, विष्णुप्रसाद तिवारीलगायतका लेखकहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।