पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः आइतबारबाट हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं तथा बुद्धिचाल तथा १० औं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले हेटौंडा–४ स्थित होटल सामनामा हुन लागेको प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा उपमहानगरपालिकालगायतको सहयोग रहने महासचिव लामाले बताउनुभयो ।

बुद्धिचालका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्दै उत्कृष्टताको आधारमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, खेलमार्फत् व्यावसायिक विकास गर्ने र बागमती प्रदेशको राजधानी हेटौंडालाई खेलकुदको माध्यमले चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा २४ औं राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगितामा सहभागी भएर पदक जितेका, राष्ट्रिय ‘बी’बाट छनौट भएका र ९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पदक जित्दै बी क्याट्यागोरीमा परेको १२/१२ जना महिला र पुरुष खेलाडीको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगितामा मकवानपुर जिल्लासहित झापा, काठमाडौं, दोलखा, रौतहट, भक्तपुर, सुनसरीलगायतका जिल्लाबाट पुरुष खेलाडीको सहभागिता रहनेछ । महिला खेलाडी भने काठमाडौं, झापा, चितवन, बाँके, मोरङ, बारा र रुकुमपूर्वबाट सहभागी हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई खानेबस्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिष्दको पनि सहयोग रहने उहाँले बताउनुभयो ।

प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन हुने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले श्रीलंकामा हुने एसियन जोनल अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । उक्त प्रतियोगिता मार्च १० देखि १९ गतेसम्म हुने उहाँले बताउनुभयो । प्रतियोगिता दोस्रो हुनेले १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रो हुनेले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब २४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।