मगन्ते भन्नाले आफ्नो जीवन धान्न वा बाँच्नका लागि दैलो–दैलोमा चाहार्दै याचनाको साथ भिख मागेर गुजारा चलाउने व्यक्तिलाई भनिन्छ । मगन्तेको कुनै घर वा बासस्थान हुँदैन । साथै मगन्तेको कुनै जात पहिचान पनि हुँदैन । मोटामोटीरुपमा यिनै हुन् हजुर मगन्तेको परिभाषा ।
हाम्रो नेपालमा प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा छुट्टै किसिमको मगन्ते देखिन थालेको छ । बासस्थान छैन भनौं भने महलमा बस्छन् । महलमा बस्नेले खाने भनेको चौरासी व्यञ्जन हो भने लगाउने पोसाकको त के कुरा गराई भो । महलमा बसिसकेपछि पाउकस्ट गर्ने कुरा पनि भएन । अग्रगामी छलांग मारेर आएका यस्ता आधुनिक विकासे मगन्तेलाई नेपालको जनताले राजनीतिक पार्टीको नेता र तिनका लठैतलाई चै कार्यकर्ता भनेर चिन्ने र जान्ने गरेका छन् ।
यी राजनीतिक मगन्तेहरु पनि वडो अजिव–अजिव किसिमका हुन्छन् । यिनीहरुको माग्ने तौरतरिका छुट्टै हुन्छ । चुनाव आओस् वा पार्टीको कार्यक्रमदेखि मजदुर दिवसको दिनमा पहिलो चरणमा प्रेमीले प्रेमिकालाई पठाउने प्रेमपत्रजस्तै गरी पार्टीको निला, राता, हरिया पहेँला आदि इत्यादि रंगको कागजमा कम्प्युटरे टाइपदेखि हस्तलिखित चिट्ठी–पत्र प्रदान गरिन्छ । पेटबोलीमा लेखेका हुन्छन् ‘देश र जनताको परिवर्तनका लागि यहाँको तर्फबाट सानो सहयोगको अपेक्षा गरेका छौं ।’ त्यो सानो भनिएको सहयोग रकम करोडदेखि हजारसम्मका हुन्छन् ।
दोश्रो चरणमा आदेशको पालना किन भएन भनेर तर–ताकेता गरिन्छ । ‘जिउ रहे पो खान पाइन्छ घ्यु’ भन्दै पैसोवाल दाताले हजुरको हुकुम सर आँखो पर माइबाप । हजुर श्रीमान्को जो निगाहा । गरिबको दैलामा सहयोग लिन सवारी होस् भनेर खबर पठाउँछन् । साँच्चिकै मगन्ते पाउकस्ट गर्छन् भने राजनीतिक मगन्ते विदेशमा बनेको प्राडोदेखि घटिमा छिमेकमा बनेको बोलेरोको यात्रा गरेर भिख थाप्न जान्छन् ।
यस्तैगरी भिख बटुलेर हिजोका ति मगन्तेहरू आजको दिनसम्ममा आइपुग्दा घटीमा पनि बायुपंखी घोडा चढ्ने भै सकेका छन् । हिजो पञ्चेती शासनमा सुकेनासले भेट्टाको त्यो ज्यानमा अहिले कास्मिरी बासमतीको भुजा (भात) भन्दा अरु घाँटीबाट छिर्न छोडिसकेको छ । हाच्छ्यु मात्र आयो भने पनि लौ स्वास्थ्य गडबडी भो भनेर ताल परेको खण्डमा जनताको करको पैसालाई सत्यानास पार्दै आकासे एम्बुलेन्स बोलाएर उपचारको नाउँमा हनुमाने फौज लिएर जान बेर लाम्दैनन् ।
चिनी धेरै खायो भने तितो हुन्छ । एकैनासको कार्य गर्दा बोरिंग फिल हुन्छ रे भनेर आजकल भिख माग्ने नयाँ तरिकाको आविस्कार गरिएको छ । जसरी सरकारले ठेक्दारको वा उद्योगपतिको काम र दामको आधारमा विदेशीको भाखा भन्ने क्याटेगरी नामको वर्गीकरण गरेको हुन्छ त्यस्तै गरी राजनीतिक मगन्तेहरूले पनि क, ख, ग, घ गरेर चन्दा नामको भिखको वर्गीकरण गरेका छन् । अब कुन–कुन दाता कुन–कुन श्रेणीमा पर्छन् त्यो भन्न परोइन ।
व्यापार–व्यवसाय गर्नेलाई व्यापारी भन्छन र यी व्यापारीको मनमा हरि हुन्न । जहाँबाट जताबाट सुकर्म होस् वा कुकर्म गरेर भए पनि पैसो कमिनु प¥यो । हातमा कचौरा लिएर दैला आउनेदेखि लिएर प्राडो, पजेरो र बोलेरो लिएर आउनेसम्मलाई यिनीहरुले असर्फी बर्साउने गर्छन् ।
तर, प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा व्यापारीहरु पनि धेरै परिवर्तन भइसकेका छन् । हिजो राणादेखि पञ्चायती शासनको पालामा दैलोमा उभिने कचौरा हल्लौनेलाई आना, सुका मोहोर दिन्थे । व्यापार गरेर मनग्गे कमाउँथे । आफ्ना कामदारलाई खुसी पार्न कुस्त बोनस दिन्थे । कमाएको मुनाफाले पाटि पौवा, चौतारी, धर्मशाला, औषधालय, धार्मिकदेखि सामाजिक कार्यमा समेत उत्तिकै दत्तचित्तले लागेर खर्च गर्थे ।
अहिले त्यस्तो छैन । कर्मचारीलाई बाँड्ने बोनसदेखि लिएर धार्मिक तथा सामाजिक कार्यमा खर्चिने ति मुनाफाको पैसो राजनीतिक मगन्तेहरूलाई दान गर्छन् । उखान त्यसै जन्मिँदैन । ‘गाई मारेर गधा पोस्ने’ भन्ने उखान यस्तै भएर जन्मेको होला ।