दोस्रो वडा खेलकुद महोत्सवबारे जानकारी दिनुहुँदै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौँडा ः हेटौँडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा दोस्रो वडा खेलकुद महोत्सव हुने भएको छ । आइतबार पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारासहित माघ ९ गतेबाट खेलकुद महोत्सव गर्न लागिएको बताइएको छ ।

हेटौँडा–४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले ४ वटा विधामा नगरस्तरीय, २ वटा विधामा जिल्लास्तरीय र अन्य वडास्तरीय गरेर २६ विधामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । माघ ९ गते नवोदय शिशु सदनको व्यवस्थापनमा कक्षा–१० सम्मका विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता हुनेछ । जसमा प्रत्येक विद्यालयबाट ३/३ जना विद्यार्थी सहभागी हुन पाउने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।

माघ १३ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा वक्तृत्वकला प्रतियोगिता हुनेछ भने १४ गते सत्यम् जेभियर्स बोर्डिङ स्कूलको व्यवस्थापनमा वादविवाद प्रतियोगिता हुनेछ । यस्तै, माघ १५ गते श्रमिक माध्यमिक विद्यालयको व्यवस्थापनमा नेपाली हिज्जे प्रतियोगिता हुनेछ । जसमा प्रत्येक विद्यालयबाट २/२ जना विद्यार्थी सहभागी हुन पाउनेछन् ।

माघ १५ गते नै शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ को व्यवस्थापनमा शिक्षक तथा विद्यालय कर्मचारीबीच जिल्लास्तरीय शिक्षक दौड प्रतियोगिता हुने वडाध्यक्ष सिग्देलले बताउनुभयो । सोही दिन शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा महिला शिक्षकबीच स्लो स्कुटी प्रतियोगिता गरिने समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो ।

२४ गते ब्रह्मदिक् एकेडेमीको व्यवस्थापनमा कविता प्रतियोगिता हुनेछ । माघ २५ गते भूटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा निबन्ध लेखन प्रतियोगिता हुने उहाँले बताउनुभयो । जसमा २/२ जना विद्यार्थी सहभागी हुन पाउनेछन् । २५ र २६ गते शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शिक्षक र ४ नम्बर वडाबीच ५ ए साइड फुटबल प्रतियोगिता हुनेछ ।

फागुन २ गते छात्र/छात्राबीच १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र १५०० मिटरको दौड प्रतियोगिता हुने वडा अध्यक्ष सिग्देलले बताउनुभयो । ४ गुणा १०० मिटर मिक्स रिले दौड, छात्र÷छात्राको लङ्गजम्प, ट्रिपलजम्प र सटपुट थ्रो प्रतियोगिता हुनेछ । १०० मिटर दौड, रिले दौड र लङ्गजम्प प्रतियोगिता जुनियर तह (कक्षा–५) सम्मका छात्र÷छात्रा र सिनियर तह (कक्षा ६–१०) सम्मका छात्र÷छात्राका लागि अलग–अलग हुने बताइएको छ । एथ्लेटिक्सका अन्य प्रतियोगितामा भने सिनयर तहका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन ३ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा भलिबल प्रतियोगिता, श्रमिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता र भूटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा क्रिकेट प्रतियोगिता हुनेछ । यी तीनवटै प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका विद्यालयबाट विद्यार्थीको टिम सहभागी हुनसक्ने उहाँले जानकारी दिनुभयो । फागुन ५ गते सत्यम् जेभियर्स स्कूलको व्यवस्थापनमा महिला शिक्षकबीच टग अफ वार प्रतियोगिता हुनेछ । सोही दिन नवोदय शिशु सदनको व्यवस्थापनमा विद्यार्थीबीच नगरस्तरीय बास्केटबल प्रतियोगिता हुनेछ । यस्तै, फागुन १६ र १७ गते शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने बताइएको छ ।

४ नम्बर वडामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रतिस्पर्धामार्फत् शैक्षिक गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको वडा अध्यक्ष सिग्देलले बताउनुभयो । यस्ता कार्यक्रमबाट विद्यार्थीको शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्नुका साथै विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । प्रतियोगितामा विजेताहरुलाई फागुन ७ गते प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।