फेला परेको मोटरसाइकल धनीलाई फिर्ता गर्दै प्रहरी ।

हेटौंडा ः मकवानपुर प्रहरीले चोरी भएको २ वटा मोटरसाइकल हेटौंडाबाट फेला पारेको छ । काठमाडौं उपत्यकाबाट हराएको तथा चोरी भएको मोटरसाइकल हेटौंडाबाट फेला पारेर प्रहरीले मोटरसाइकल धनीलाई आइतबार फिर्ता गरेको हो ।

भदौ २९ गते ललितपुर महानगरपालिका–१५, सातदोबाटोमा पार्किङ गरी राखेको पूर्णबहादुर तामाङको बा प्र ०२–०२७ प ३८८३ नम्बरको केटीएम ड्युक मोटरसाइकल र मंसिर ३० गते काठमाडौं महानगरपालिका–१४, कलङ्कीमा पार्किङ गरेको अवस्थामा बा प्र ०२–०१७ प ९६०५ नम्बरको २०० सिसीको रिजन खड्गीको एनएस पल्सर मोटरसाइकल चोरी भएको थियो ।

तामाङको मोटरसाइकल हेटौँडा–८, किरानचोक सडकबाट प्रहरीले फेला पारेको थियो । शरदकुमार श्रेष्ठले नम्बर प्लेट परिवर्तन गरी प्र २–०३–०१२ प ६२६८ नम्बर बनाएको प्रहरीले जानकारी दिएको छ । खड्गीको चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा हेटौँडा–१०, बसपार्कबाट प्रहरीले फेला पारेको थियो । उक्त मोटराइकल पनि सबिन मिजारले नम्बर प्लेट परिवर्तन गरी बा प्र ०२–०२८ प ९३७१ नम्बरको बनाएर चलाएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताउनुभएको छ ।

उहाँका अनुसार दुबै प्रतिवादीमाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दायरा गरी मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।