हेटौँडा ः राष्ट्रिय दलित आयोग बागमती प्रदेशले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार बिहान प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगले प्रदेश प्रमुख देवकोटालाई वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको हो ।
प्रदेश प्रमुख देवकोटालाई संविधानको धारा २९४ (३) बमोजिम आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रतिवेदन बझाएका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले दलित समुदायको सवाल र समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले पछि पारिएका र सिमान्तकृत तथा दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजनाका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राज्यको मूलधारमा दलित समुदायको प्रतिनिधित्व गराउन आवश्यक कार्यक्रमहरु तयार गर्न प्रदेश सरकार समक्ष पहल गर्ने उहाँको भनाई छ ।
प्रवक्ता पुर्कुटीका अनुसार आयोगको उक्त प्रतिवेदनमा ७ वटा परिच्छेद र ६ वटा अनुसूची समेटिएको छ । जसमा आयोगको परिचय, दलित समुदायको हक, हित र अधिकार सम्बन्धी व्यवस्था, दलित समुदायको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व बारे उल्लेख गरिएको प्रवक्ता पुर्कुटीले जानकारी दिनुभयो । उक्त प्रतिवेदनमा आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिति, आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था, आयोगका अवसर, चुनौती र आगामी कार्यदिशा लगायतका विषय समेटिएको उहाँले बताउनुभयो ।
दलित हक, हित सम्बन्धी भएका व्यवस्थाहरु, जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि ऐन, कानुन कार्यान्वयनको अवस्था, राज्यका निकायहरुको प्रयासहरु र दलित समदाय लक्षित कार्यक्रमहरुको अवस्था बारेमा प्रतिवेदनमा उल्लेख गरिएको उहाँले बताउनुभयो । जातीय आधारमा हुने विभेद, अन्धविश्वास, अपराध, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अन्त्य गर्दै दलित समुदायको सहज जीवनयापन गर्न सरकारले लिएको नीतिलाई प्रतिवेदनले समेटेको उहाँको भनाई छ ।
मानव अधिकार सम्बन्धीमा गरेका प्रतिवद्धतालाई सरकारले नीति, कानुन, रणनीतिक योजना र कार्यक्रम तथा बजेटमा समेट्न नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय जनगणना, २०७८ अनुसार बागमती प्रदेशमा दलित समुदायको जनसंख्या ३ लाख ५९ हजार ५११ जना रहेको छ ।