हेटौँडा ः गौरिटार रंगशाला भित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माणका लागि ११ करोड ७४ लाख रुपैयाँको लागतमा काम धमाधम भइरहेको छ । क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का सम्झौता गरेर काम गरिरहेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल मैदान सम्याउने काम भइरहेको र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने त्यसको माथि विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने काम हुने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने इन्जिनियर प्राविधिकले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ । त्रिकेट मैदानमा ४ वटा ब्लकमा प्यारापिट निर्माण गर्ने योजना अनुसार डिपिआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको एक पिसको काम भइरहेको उहाँले बताउनुभयो ।