हेटौँडा : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट मैदानको स्थलगत अवलोकन गर्नुभएको छ । हेटौंडा हुँदै जनकपुर जाने क्रममा क्यान सचिव खड्काले गौरीटारमा निर्माणाधिन क्रिकेट मैदानको स्थलगत अवलोकन गर्नुभएको हो ।
सचिव खड्कासहित प्रवक्ता छुमी लामा, मकवानपुर क्रिकेट संघका पदाधिकारी लगायतले क्रिकेट मैदान अवलोकन गरेका हुन् । उहाँले हेटौँडामा क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुभयो । क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको खड्काले बताउनुभयो ।
क्रिकेट खेलको पूर्वाधार तिव्र गतिमा भइरहेको र छिट्टै नै राष्ट्रियस्तरका खेलहरु खेलाउन सकिने अवस्था रहेको सचिव खड्काले बताउनुभयो । देशमा स्तरीय खेल पूर्वाधारका लागि संरचना तथा पूर्वाधार अभाव रहेका बखत सो संरचनाले क्रिकेट प्रतियोगिता संचालनमा सहजता मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले संरचनासँगै खेलाडी उत्पादन र प्रोत्साहनमा सरकारले काम गर्न जरुरी रहेको औँलाउनुभएको छ । खड्काका अनुसार क्रिकेट संघले आफ्नो तर्फबाट क्रिकेटको विकास र खेलाडी उत्पादन प्रोत्साहनमा पर्याप्त पहल गरिरहेको छ । संघको पहलमा सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
सचिव खड्काले क्रिकेट संघका तल्लो तहका संरचनाहरुलाई बलियो बनाउन जरुरी रहेको उल्लेख गर्नुहुँदै आर्थिक रुपले जिल्ला र प्रदेशमा रहेको क्रिकेट संघलाई बलियो बनाएर पूर्वाधार तथा खेलाडी उत्पादनमा काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटको उचाई थप बढाउन मद्दत गरेको उहाँले बताउनुभयो । एनपिएलले खालाडीहरुको क्षमता विकाससँगै प्रतिभा प्रस्फुटनमा सहयोग मिलेको सचिव खड्काले बताउनुभयो ।