हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) को निर्वाचनको १० दिन अघि सदस्यताका सन्दर्भमा विवाद देखिएको छ । निर्वाचनको मिति नजिकिएसँगै मताधिकारको विषयमा विवाद देखिएको हो । सदस्यता विवादको विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघको वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका आकांक्षी अनिल अग्रवालले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकाललाई निवेदन दिनुभएको छ । एशोसिएटतर्फ सदस्यता स्थानान्तरण गरेका ९ जना सदस्यको तर्फबाट अग्रवालले प्रशासनमा निवेदन दर्ता गराउनुभएको हो । एसोसिएटतर्फ स्थानान्तरण गरेका सदस्यले मताधिकार कायम हुनुपर्ने माग गर्दै स्थानीय प्रशासनमा बुधबार निवेदन दिएका हुन् ।
पुस १६ गते संघको कार्यसमिति बैठकले निर्वाचनअघि एसोसिएटतर्फ स्थानान्तरण हुने सदस्यलाई साविककै क्षेत्रमा मताधिकार रहने गरी निर्णय गरेको थियो । उक्त निर्णयमा वरिष्ठ उपाध्यक्ष अग्रवालसहित ४ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । सदस्यता नवीकरण गर्ने अन्तिम दिन पुस ९ गते प्रमोद सिंह रानाभाट समूहबाट २ जना सदस्यले अन्य समूहबाट एसोसिएटतर्फ स्थानान्तरण गर्ने प्रयास गरेपछि अग्रवाल समूहका ९ जनाले पनि अन्य समूहबाट एसोसिएटतर्फ स्थानान्तरणका लागि निवेदन दिएर राजश्व समेत बुझाएका हुन् ।
सदस्यता स्थानान्तरण र मताधिकारसम्बन्धी विवाद भएपछि सदस्यको माग बमोजिम मताधिकार दिँदा निर्वाचनको परिणाममै प्रत्यक्ष प्रभाव देखिने भएपछि साविककै क्षेत्रमा मताधिकार रहने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार अग्रवालले जानकारी दिनुभयो ।
मणि खाद्यान्न सेन्टरका सञ्चालक काव्यमणि अधिकारी, बानियाँ ट्रेडर्सका सञ्चालक राजेश बानियाँ, ओम बाबा वैद्यनाथ भण्डारका प्रालि सञ्चालक सुदर्शन खरेल, ए एण्ड ए इन्टरप्राइजेजका सञ्चालक अरुण कुमार दाहाल, आर वी अर्वान विल्डर्स एण्ड सप्लायर्स प्रालिका राजेश भेटवाल, शिवशक्ति ट्रेडर्सका जानुका नेपाल, रोहिनी हाउजिङ एण्ड सप्लायर्सका विष्णु प्रसाद घिमिरे, स्वस्तिक डेभलपर प्रालिका भिमप्रसाद तिमल्सिना र स्यार्सेकालिका पेट्रोलियमका सञ्चालक गोकर्ण प्रसाद पराजुली लगायतले एशोसिएटमा परिमार्जन गर्न माग गर्दै निवेदन दिएका थिए ।
संघको विधानको दफा ८ बमोजिम एशोसिएट सदस्यका लागि आवश्यक कागजातसहित निवेदन पेश गरी उनीहरुको निवेदनमा कार्यालय प्रमुखले तोक लगाएर १० हजार रुपैयाँ राजश्व समेत बुझाइसकेको अनिल अग्रवालले बताउनुभयो । उहाँका अनुसार राज्यका निकायहरुमा दर्ता तथा नवीकरण र कर नियमित बुझाएर संघमा सदस्य रहेका छन् । संघको विधान बमोजिम २०५१ दफा ५ बमोजिम सदस्यता लिई उद्योग व्यापार क्षेत्रमा आफूहरु काम गर्दै व्यापारी तथा उद्योगीको क्षेत्रमा आफ्नो हकहितको बारेमा वकालत गर्दै आइरहेको उहाँले बताउनुभयो ।
संघको पुस १६ मा बसेको कार्यसमितिको बैठकले सदस्यता स्वीकृति गरेको तर निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी एकल निर्णय गरेकोले अन्याय गरेको उहाँले बताउनुभयो । संघको विधानको दफा ११ (७) मा संघको सदस्यता प्राप्त गरेको मितिले ३६५ दिन पुगेको सदस्यहरुले मात्र निर्वाचन प्रक्रियामा मतदान गर्न पाउने व्यष्वस्था रहेको छ । उक्त व्यवस्थालाई टेकेर विगत वर्षदेखि नै संघको सदस्यता कायम भएको तर विधानको दफा ८ मा भएको व्यवस्था बमोजिम एशोसिएट सदस्य हुन चाहेको अवस्थामा कार्यसमितिले विधान विपरित र प्रचलित कानुन विपरित निर्णय गर्दा समस्या भएको उहाँको भनाई छ ।