बालमैत्री वडा घोषणाको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः हेटौंडा–१६ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शुक्रबार “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” नारासहित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । वडालाई निकृष्ट बालश्रम, बाल विवाहमुक्त घोषणा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । हेटौंडा–१६ नम्बर वडाका वडाअध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा बालमैत्री घोषणा गरिएको हो ।

मेयर लामाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा प्रतिबद्धता पत्र अध्ययनसँगै हस्तक्षर गर्नुहुँदै बालमैत्री घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर लामाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणालाई उपमहानगरले अभियानको रुपमा सुरु गरिएको बताउनुभयो । अभियान सुरु गर्दा बालश्रम अन्त्य हुन नसक्ने उहाँको भनाई छ । बालअधिकार हनन्, बाल विवाह र बालश्रम विरुद्व आवाज उठ्न सुरुवात भएको बताउनुभयो । यस्तै शिक्षाबाट बञ्चित बालबालिकाको खोजीको सुरुवात गरी नियमित विद्यालय जाने वातावरण निर्माण सुरुवात भएको उहाँको भनाई छ ।
बालबालिकामा विभिन्न कठिनाईसँगै शौचालयदेखि शिक्षामा समस्या रहेको जानकारी दिनुहुँदै त्यसलाई समाधान गर्दै सफलता हासिल गर्न अभियानले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान उपमहानगरको एजेण्डा मात्र नभई देशको पनि एजेण्डा रहेको जानकारी दिनुभयो । सन् २०३० भित्र नेपाललाई नै बालमैत्री स्थानीय शासनयुक्त देश घोषणा गरिने लक्ष्य सरकारको रहेको बताउनुभयो । जसले गर्दा बालअघिकार सुनिश्चित गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।

यसैगरी हेटौंडा–१६ नम्बर वडाका वडाध्यक्ष कोइरालाले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ५१ वटा सूचक पूरा गर्दै वडालाई बालमैत्री घोषणा गर्न सफल भएको जानकारी दिनुभयो । घरधुरी तथ्यांक संकलन सर्वेक्षण–२०७९ अनुसार १ हजार ६ सय ६० घरधुरी रहेको छ । १८ वर्षभन्दा मुनिका २ हजार ३ सय ८० बालबालिका रहेको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । १ हजार १ सय ७९ बालक र १ हजार २ सय १ बालिका रहेको बताउनुभयो । सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहित ६ वटा विद्यालय संचालनमा रहेका छन् । यसैगरी २१ वटा बाल समूह र १ वटा बाल सञ्जालमा ५ सय २५ बालबालिका आबद्ध छन् । ५ सय ४५ मात्र बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याएको भन्दै वडा सहजकर्ता, नगर सहजकर्ता, बालसमूह र विभिन्न संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको छ । यस्तै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रवक्ता सविन न्यौपाने लगायत जनप्रतिनिधी, अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो ।