हेटौंडाः बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा चितवनको भरतपुर फुटबल क्लब विजयी भएको छ । शुक्रबार हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा काभ्रेको माउण्ट एभरेष्टलाई भरतपुर फुटबल क्लबले २–१ गोल अन्तरले पराजित गरेको हो ।
भरतपुरको तर्फबाट पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अन्जन चौधरीले पहिलो अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६६ औं मिनेटमा सन्दिप केसीले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको अन्तिम समयमा माउण्ट एभरेष्टका विशेष लामाले टिमका लागि सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सान्त्वना गोलकर्ता माउण्ट एभरेष्टका लामा घोषित हुँदै ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।
यो खेलसंगै काभ्रे प्रतियोगिताबाट बाहिरिएको छ । समुह चरणको २ खेलमा जित निकाल्न नसकेको काभ्रे शुन्य अंक सहित प्रतियोगिताबाट बाहिरिएको हो । काभ्रे यस अघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबसँग पराजित भएको थियो । चितवन ३ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेलमा घरेलु टोली मकवानपुरको पदमपोखरी युथ क्लब र धादिङको धुनीवेसी युथ समाज बीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा ११ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।