हेटौंडाः मनहरी गाउँपालिकाको ५ वटा वडामा रहेको बालबालिहरुको अवस्थाबारे संकलन गरिएको तथ्यांक सार्वजनिक गरिएको छ । सिविन नेपाल मकवानपुरले गाउँपालिकाको १, ३, ५, ७ र ९ नम्बर वडामा बसोबास गर्ने बालबालिकाको अवस्था पहिचान गर्न संकलन गरिएको तथ्यांक मंगलबार मनहरी–९, रजैयामा रहेको अग्निहोत्राश्रमको सभाहलमा सार्वजनिक गरिएको हो ।

६ हजार ३ सय ५७ घरधुरीमा पुगेर अभिभावकसँग ८ हजार ७ सय ८७ जना बालबालिकाबारे विभिन्न विषयमा प्रश्नोत्तर गरी तथ्यांक संकलन गरिएको थियो । तथ्यांकअनुसार उक्त वडाको कुल बालबालिकामध्ये ७ हजार १ सय १८ बालबालिका विद्यालय भर्ना भएका छन् । २ सय ८० जना बालबालिले विद्यालय छाडेको सिविन नेपालको तर्फबाट विषयविज्ञ भाष्कर खनालले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

बालबालिकाले विद्यालय छाड्नुको मुख्य कारण आर्थिक अवस्था कमजोर र विद्यालय टाढा हुनु अध्ययनले देखाएको छ । यसैगरी ६८ घरधुरीका ७४ जना बालबालिका अझै बालश्रम गरिरहेका छन् भने ४७ जना बालबालिका बालविवाहको उच्च जोखिममा रहेको तथ्यांकमा उल्लेख गरिएको छ । तथ्यांकअनुसार ७१ जना बालबालिका अपाङ्ग रहेका छन् ।

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाका बालबालिकाको संरक्षण गर्ने जिम्मा गाउँपालिकाको रहेको बताउनुभयो । सार्वजनिक तथ्यांकले देखाएको नकरात्मक पक्षको सुधारमा ध्यान दिने उहाँले बताउनुभयो । बालश्रम र बालविवाह रोक्न निकै कठिनाइका बिच सिविन नेपालसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

सिविन नेपाल मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बालविवाह, बालश्रमलगायत विभिन्न विषयमा स्थानीय सरकार स्वयम् जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिनुभयो । सर्वेक्षण गरिएका पाँचै वडाको तथ्यांक वडागतरुपमै सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

सिविन नेपाल मकवानपुरका प्रबन्धक ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाको १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी र ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थिति थियो । यस्तै, गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, गाउँपालिकाको विभिन्न शाखा प्रमुख, टोल विकास सस्थाका अध्यक्ष र पत्रकारहरुको उपस्थिति रहेको थियो ।