हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीमा रहेको भानु माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईंको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यमा वार्षिक उत्सवको समापन भएको थियो ।
वार्षिक उत्सवको अवसरमा विद्यालयमा नृत्य तथा गायन प्रतियोगिताको आयोजनासमेत गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित पुरस्कृत गरिएको थियो । वार्षिक उत्सवको अवसरमा विद्यालयले कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरूका लागि विभिन्न किसिमको खेलकुद, हस्तकला, हाजिरीजवाफ लगायतका प्रतियोगिताको आयोजनासमेत गरेको थियो ।
वार्षिक उत्सवको अवसरमा नर्सरीदेखि कक्षा १२ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । वार्षिक उत्सवको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न कार्यक्रमहरूको समाचार सम्प्रेषण गरेकोमा समृद्ध समाज राष्ट्रिय दैनिकलाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिन र पूर्वअध्यक्ष बिदुर हुमागाईंको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछाने, शिक्षाविद् तथा शैक्षिक धरोहर पुरनबहादुर जोशीको विशेष अतिथ्यता थियो । गाउँपालिकाका स्रोत शिक्षक दासरथी उपाध्याय, शिक्षा शाखा प्रमुख रामबहादुर घलान, ३ नम्बर वडाध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा सदस्य, टोल अध्यक्ष, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, सञ्चारकर्मीको आतिथ्य थियो । कार्यक्रममा अभिभावक, विद्यार्थी, समिति सदस्य, शिक्षक एवम् कर्मचारीको उपस्थिति थियो ।