नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सम्पन्न भएको छ । गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको एनपीएल नेपाली खेल इतिहासमा सबैभन्दा सुखद् बन्यो । नेपाल क्रिकेट संघ (क्यान) ले आफैं आयोजना गरेको यस फ्रेन्चाइज प्रतियोगिताप्रति नेपाली क्रिकेटप्रेमीको क्रेज र चासोको अहिले विश्वभर चर्चा भइरहेको छ । क्रिकेटको एउटा भरपर्दो पूर्वाधारसमेत नभएको नेपालजस्तो देशले आयोजना गरेको एनपीएलको चर्चा अन्तर्राष्ट्रिय स्तरमा चुलिएको छ । विश्वका धेरै देशमा क्रिकेटको विभिन्न लिगहरु हुने गरेको भए पनि नेपाल जस्तो एसोसिएट देशमा यो स्तरको लिग हुनुले विश्व समुदाय आश्चर्यचकित भएको छ । नेपालमा यसअघि पनि लिगका नाममा केही प्रतियोगिता हुने गरेको भए पनि त्यसको चर्चा शून्यप्रायः थियो । यस्तो अवस्थामा पहिलो संस्करणको एनपीएललाई पनि धेरै नेपाली तथा विदेशीले सामान्य क्रिकेट प्रतियोगिता हुने अनुमान गरेका थिए । तर, एनपीएल नेपालको क्रिकेटलाई विश्वमा थप पहिचान र उचाइ दिन सफल भएको छ ।
करिब ३ सातासम्म आयोजना गरिएको एनपीएल जनकपुर बोल्ट्सले जितेको छ । एनपीएल क्रिकेट प्रतियोगिताको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गरी उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी भएका हुन् । सहभागी टिमले अक्सन गरेर स्वदेशी तथा विदेशी खेलाडी किनेका थिए । निकै सशक्त टिमहरुबीच भएको प्रतिस्पर्धाले नेपाललाई क्रिकेटको व्यापक सम्भावना भएको देशको रुपमा चिनाउन थप मद्दत गरेको छ ।
एनपीएलको पहिलो संस्करण नेपाली खेल क्षेत्रमा एउटा अविस्मरणीय प्रतियोगिता सावित भएको छ । क्रिकेट संघका पदाधिकारी, राजनीतिज्ञ, प्रायोजक, दर्शक र क्रिकेटप्रेमी सबैको साथ, सहयोग, चासोकै कारण यसको चर्चा अन्तर्राष्ट्रिय स्तरमा व्यापक देखिएको छ । खेल हेर्ने दर्शकको उपस्थिति र केही घण्टामै टिकट बिक्री हुनुले एनपीएलप्रति नेपाली क्रिकेटप्रेमी र समर्थकमाझ मोह झन् बढाएको छ । एनपीएलकै कारण नेपालमा विश्वका चर्चित क्रिकेट खेलाडीको आगमन भयो । क्रिकेट खेल्न आएका ती खेलाडीले नेपाल र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोगी बनेको छ । विश्वप्रसिद्ध खेल च्यानल स्टार स्पोर्टसमा प्रत्यक्ष प्रसारण गरिएका कारण पनि एनपीएलको चर्चा चुलियो । आधा दर्जन विदेशी कमेन्टेटर प्रयोग गरेर तीन भाषामा प्रत्यक्ष प्रसारण गरेका कारण पनि एनपीएल एसोसिएट क्रिकेटको उत्कृष्ट फ्रेञ्चाइज प्रतियोगिता सावित भएको छ । एनपीएलमा स्वदेशी तथा विदेशी खेलाडीहरुले स्तरीय प्रदर्शन गरेकाले प्रतियोगिताका अधिकांश खेलहरु रोचक बनेका थिए । एनपीएल नेपालकै सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता बन्यो । एउटै प्रतियोगितामा ५० करोडभन्दा बढी बजेट परिचालन भएका कारण नेपाली खेल क्षेत्रका लागि एनपीएलले थुप्रै सम्भावना देखाएको छ ।
चुस्त आयोजना, विदेशी र स्वदेशी खेलाडीहरुको प्रदर्शन र दर्शकहरुको मायाले एनपीएलको पहिलो संस्करण अत्यन्त सफल देखिएको छ । यसले यसको आगामी संस्करण अझ परिस्कृत र उत्कृष्ट हुने विश्वास गर्न सकिन्छ । आगामी दिनमा यो प्रतियोगितालाई अझ व्यावसायिक बनाएर नाफा कमाउन सक्ने सम्भावना पनि देखिएको छ । नेपालका लागि मात्र नभएर विश्व क्रिकेट जगतकै लागि एउटा उदाहरणीय खेल प्रतियोगिता बन्न सफल बनेको एनपीएलले नेपालको क्रिकेट खेलको थप विकासमा महत्वपूर्ण योगदान र्पुयाएको मान्न सकिन्छ । पहिलो संस्करणमै उच्चस्तरीय प्रविधिसहित प्रतियोगिताको सफल सञ्चालन गरी विश्वभर नेपाल र नेपाली क्रिकेटको ख्याति वृद्धि गरेर क्रिकेटप्रतिको चासो र मोह वृद्धि गरेकोमा एनपीएल आयोजकलाई धन्यवाद दिनैपर्छ ।