चन्द्रमणि रिमाल हेटौँडा, मकवानपुर

शिक्षक भनेको केवल पाठ पढाउने व्यक्ति होइन ऊ त विद्यार्थीको मनोभावना र मानसिक अवस्थाको गहिरो अध्ययन गर्ने र बुझ्न सक्षम हुने एक संवेदनशील मार्गदर्शक हो । शिक्षण केवल ज्ञान सन्देश प्रवाह गर्ने क्रियावली मात्र होइन यसले त विद्यार्थीको भावनात्मक र मानसिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । यस दृष्टिकोणले गर्दा यदि शिक्षक विद्यार्थीको मनोभावना बुझ्न असमर्थ हुन्छ भने उसले वास्तविक शिक्षकका रूपमा कार्य गर्न सक्दैन ।

शिक्षकको काम केबल पाठ्यक्रम पूरा गर्नु मात्र होइनः विद्यार्थीलाई एक सन्देश दिनु हो जुन उनीहरूको जीवनमा स्थायी प्रभाव छोडोस् । यसका लागि शिक्षकले विद्यार्थीको मनोभावना र मानसिक अवस्थालाई गहिरो रूपमा बुझ्न आवश्यक छ । विद्यार्थीहरूको मनोविज्ञानसँग सम्बन्धित अनेकौं कारकहरू जस्तै व्यक्तिगत पृष्ठभूमि, पारिवारिक अवस्थिति, मित्रसँगको सम्बन्ध, शैक्षिक अवस्थिति र समाजमा भएका घटनाहरूले विद्यार्थीको मानसिकता र अभिवृत्तिमा ठूलो भूमिका खेल्दछ । यदि शिक्षक यी सबै पक्षहरूलाई नबुझी पढाइमा मात्र ध्यान केन्द्रित गर्छ भने ऊ विद्यार्थीलाई पूर्ण रूपमा समर्पण गर्न र उनीहरूको मानसिक अवस्थासँग सहकार्य गर्न असमर्थ छैन भन्ने कुरा बुझे हुन्छ ।

मानव समाजका हरेक सदस्यको व्यक्तिगत र सामाजिक विकासमा शिक्षकको योगदान महत्वपूर्ण छ यद्यपि शिक्षकका रूपमा काम गर्दा यदि शिक्षकले केवल पाठ्यक्रमका विषयमा मात्र केन्द्रित रह्यो भने शिक्षकले विद्यार्थीको आन्तरिक दृष्टिकोणलाई उपेक्षा गरेका हो भन्ने मान्न सकिन्छ । विद्यालयको वातावरणमा विद्यार्थीले सिक्ने मात्र होइन, उनीहरूले आफ्नो भावनात्मक, मानसिक र सामाजिक अवस्थासमेत विकसित गर्न सक्छन् । यसका लागि, शिक्षकले विद्यार्थीको मनोविज्ञानलाई बुझ्न जरुरी छ ।

शिक्षकको भूमिका भनेको पाठ्यक्रमलाई राम्रोसँग बुझाउन र विद्यार्थीलाई कक्षामा प्रस्तुत गर्न मात्रै होइन, यो विद्यार्थीको भावना र मानसिकताको हेरचाह गर्नु पनि हो । विद्यार्थीले एक पाठमा मात्र जस्तो कि गणित, विज्ञान वा भाषा मात्र होइन, आफ्नो भावनात्मक र सामाजिक विकासका लागि पनि शिक्षकको मार्गदर्शनको आवश्यकता हुन्छ । जब एक विद्यार्थी शैक्षिक दृष्टिकोणबाट कमजोर हुन्छ भने शिक्षकले मात्र उसलाई अझ बढी पाठ्यवस्तुमा ध्यान केन्द्रित गराउनको प्रयास नगरेर उसको मानसिक अवस्थालाई बुझेर सहारा दिनु पर्दछ ।

शिक्षकलाई मानसिकता र मनोविज्ञानका आधारभूत सिद्धान्तहरूको जानकारी हुनु अत्यन्त महत्वपूर्ण छ । यदि शिक्षकले विद्यार्थीको व्यवहार र प्रतिक्रियाहरूको मनोविज्ञानलाई नबुझी मात्र पाठ्यवस्तुमा ध्यान केन्द्रित गर्छ तब ऊ त्यो विद्यार्थीसँग कुनै पनि प्रभावकारी शिक्षण अनुभव उत्पन्न गर्न असमर्थ हुन्छ । शिक्षाविद्हरूले समेत यसबारेमा छलफल गरेका छन् कि शिक्षणका क्षेत्रहरू केवल शैक्षिक ज्ञानको मात्र होइन, विद्यार्थीको सामाजिक र भावनात्मक पक्षलाई बुझ्न आवश्यक छ ।

कुनै पनि विद्यार्थीले कक्षामा राम्रो प्रदर्शन गर्नुको पछाडि उसको परिवारको परिस्थिति, साथीहरूको प्रभाव, विद्यालयको वातावरण र व्यक्तिगत स्वभाव लगायतका अनेकौं कारणहरू पर्न सक्छन् । यदि शिक्षक यी पक्षहरूलाई नबुझी विद्यार्थीलाई मात्र ज्ञान दिन खोज्छ भने त्यो शिक्षकको शिक्षण शैली कमजोर छ भनेर बुझे हुन्छ । शिक्षणका क्रममा शिक्षकको उद्देश्य केवल पाठ्यवस्तुलाई बुझाउनु मात्र होइन, विद्यार्थीलाई मानसिक र भावनात्मक समर्थन दिनु पनि हो ।

जब विद्यार्थी भावनात्मक दबाबमा हुन्छन्, जस्तै घरको अवस्थिति, परीक्षा दवाव वा सामाजिक समस्याहरू त्यो समयमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षकले विद्यार्थीको मनोभावनामा भएको उतारचढावलाई बुझेर उसलाई उपयुक्त समाधान र सहारा दिनुपर्ने हुन्छ । शिक्षकले विद्यार्थीसँग मित्रवत् र सहज सम्बन्ध राख्दा विद्यार्थी आफ्नो भावनात्मक अवस्थालाई साझा गर्न सजिलो महसुस गर्छ र यसरी विद्यार्थीको शिक्षा पनि प्रभावकारी बन्छ ।

विद्यार्थीको भावनात्मक र मानसिक स्वास्थ्यको अवस्थामा शिक्षकले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यदि शिक्षक भावनात्मक रूपमा संवेदनशील र सजग छ भने विद्यार्थीले आफूलाई सुरक्षित र सम्झिने महसुस गर्दछ । यसले विद्यार्थीको आत्मविश्वास र आत्मसम्मानलाई पनि वृद्धिका रूपमा असर पु¥याउँछ । यस्तो अवस्थामा शिक्षकको कार्य केवल पाठ्यवस्तु पढाउनु मात्र होइन विद्यार्थीलाई जीवनका विभिन्न समस्याहरू र चुनौतीहरूको सामना गर्ने क्षमता प्रदान गर्नु पनि हो ।

शिक्षा समाजको दर्पण हो र समाजका समस्याहरू पनि शिक्षा प्रणालीमा प्रकट हुन्छन् । यदि समाजमा असमानता, भेदभाव, हिंसा वा अन्य कुनै नकरात्मक तत्वहरू छन् भने ती समाजका विद्यार्थीको मानसिकता र मनोभावनामा असर पु¥याउँछन् । शिक्षकको जिम्मेवारी यस अवस्थामा विद्यार्थीको मानसिक अवस्थालाई बुझेर र समाजका विकृतिहरूसँग सामञ्जस्य राखेर उनीलाई शिक्षा प्रदान गर्नु हो । शिक्षकले विद्यार्थीको समस्याहरूलाई केवल एउटा अस्थायी अवस्था नसम्झी दीर्घकालिक समाधानको दृष्टिकोणबाट हेरिनु पर्दछ ।

यसरी भन्न सकिन्छ कि शिक्षकको कार्य केवल शैक्षिक ज्ञान प्रदान गर्नु मात्र होइन, विद्यार्थीको मानसिक र भावनात्मक अवस्थालाई पनि बुझ्नु हो । विद्यार्थीको मनोभावना बुझ्न शिक्षकको गहिरो अध्ययन र संवेदनशीलता आवश्यक छ । यदि शिक्षकले विद्यार्थीको मनोभावनालाई बुझ्न सक्दैन भने उसले सम्पूर्ण शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सक्षम हुँदैन । यसले शिक्षा प्रणालीमा बाधा पुर्‍याउँछ र विद्यार्थीको पूर्ण विकासमा अड्चन ल्याउँछ । शिक्षकको असली भूमिका तब मात्र पूरा हुन्छ जब ऊ केवल पाठ्यवस्तुको शिक्षणमा मात्र सीमित हुँदैन । उसले विद्यार्थीको मानसिक, भावनात्मक र सामाजिक पक्षमा पनि योगदान पु¥याएमा मात्र शिक्षक एक देशको मेरुदण्ड तथा अभिन्न अङ्ग हो भनेर भन्न हामी हिचकिचाइ रहनुपर्दैन ।