हेटौँडाः राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा उपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । शनिबार हेटौँडामा भएको मतदानबाट काठमाडौंका श्रेष्ठले ८६ मत प्राप्त गर्नुहुँदै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।
७४ मतान्तरसहित श्रेष्ठ विजयी हुनुभएको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकी व्यवस्थापक सीता मल्ल ठकुरीले जानकारी दिनुभयो । श्रेष्ठका प्रतिष्पर्धी नुवाकोटका विरोध खतिवडाले भने जम्मा १२ मत प्राप्त गर्नुहुँदै पराजय हुनुभयो । उपाध्यक्षमा मकवानपुरकी शारदा पौडेल, सचिवमा मकवानपुरकै एम प्रसाद सुवेदी, सहसचिवमा काठमाडौंका मनिष सुब्बा, कोषाध्यक्षमा ललितपुरका सुप्रभा अर्याल सर्वसम्मत चयन हुनुभएको छ । श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन भएको छ ।
सदस्यहरुमा काठमाडौंकी बिनु थापा, प्रमिला न्यौपाने, अग्निशिखा आचार्य, सागर लामा, रचना पराजुली, गोमा कुँवर थापा, बालकुमारी काफ्ले, बद्री बिक्रम थापा, वासुदेव यादव, डोरबहादुर चित्रकार, चितवनका मधुसूदन निउरे, सिन्धुपाल्चोककी गंगा छन्त्याल सर्वसम्मत चयन हुनुभएको छ । ७१ वटा संस्थाका १ सय ३७ जना प्रतिनिधिमध्ये १ सय ३ जनाले मताधिकार प्रयोग गर्नुभयो । बागमती प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरु १ लाख २१ हजार ४ सय ४७ जना छन् ।