हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरुको पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै ख्रिष्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिनुभयो । उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरु बन्द रहने छन् ।
उहाँका अनुसार ख्रिष्टमस पर्वले वहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम राख्न जरुरी छ । ख्रिष्टमसले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा सम्वृद्ध राक्सिराङ बनाउन प्रेरणा प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।