तामाङ पत्रकार संघ बागमती प्रदेश समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः तामाङ पत्रकार संघ (नेवा–ताम्सालिङ) बागमती प्रदेशको अध्यक्षमा चितवनका ज्ञानेन्द्र तामाङ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न प्रदेशको दोस्रो अधिवेशनले तामाङको नेतृत्वमा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा जगतमान तामाङ (काभ्रे), सचिवमा दिलबहादुर तामाङ (मकवानपुर), सहसचिवमा मायालु लामा (काठमाडौं), कोषाध्यक्षमा पेमा लामा दोङ (दोलाखा) सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा श्यामलाल लामा (काठमाडौं), फूर्वा तामाङ (दोलाखा), नवराज वाईबा (मकवानपुर), बबिलाल तामाङ (चितवन), विकास वाईवा (काभ्रे) लाई चयन गरेको छ । संघको पहिलो बैठकले केही सदस्यलाई मनोनित गरिने बताएको छ । संघले रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा र तामाङ पत्रकार संघ चितवन शाखालाई ५/५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । तामाङ पत्रकार संघ मकवानपुरलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।

तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष अर्जुन तामाङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भेला भएको थियोे । भेलालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख लामाले पछाडि पारिएका समुदायलाई अगाडि बढाउनु स्थानीय सरकारको उद्देश्य रहेको जानकारी दिनुभयो । नगरप्रमुख लामाले स्थानीय पाठ्यक्रममा तामाङ समुदायको भाषा समावेश गराउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो । यस्तै तामाङ संग्रहालय निर्माण सुरुवात गरिएको जुन देशकै नमुना रहेको उहाँले दावी गर्नुभयो ।