हेटौँडाः पत्रकार सुधीर शर्माका दुई कृति माथि हेटौँडामा विमर्श गरिएको छ । शर्माले लेख्नुभएको पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह” र ‘हिमालपारिको हुरी’ माथि विमर्श गरिएको हो ।
राजनीतिज्ञ, साहित्यका, प्राध्यापक, विद्यार्थी, व्यवसायीको उपस्थितिमा शुक्रबार हेटौँडामा आयोजित विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुती राख्नुहुँदै लेखक शर्मासँग अन्तरक्रिया गर्नुभएको थियो । ‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकालदेखि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएको उल्लेख गर्नुहुँदै उपप्राध्यापक घिमिरेले ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले खुलारुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको बताउनुभयो ।
हिमालपारिको हुरीमा सन् २००८ अघि अन्तरमुखी चीन सन् २००८ को ओलम्पिक खेल आयोजनापछि विश्वसामु आफुलाई खुलारुपमा प्रस्तुत गरेको, आफ्नो शक्ति र सामथ्र्य प्रस्तुत गरेको घिमिरेले बताउनुभयो । नेपालमा राजतन्त्रको अन्त्य भएपछि चीनले राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातमा आफ्नो राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेर राजनीतिक परिवर्तनलाई स्वीकारेको प्रसंगको महत्वपूर्ण विश्लेषण पुस्तकमा रहेको घिमिरेले बताउनुभयो ।
यता भिक्षु, व्यापार र विद्रोहमा लेखक शर्माले नेपाल र चीनबीचको व्यापार सम्बन्ध र इतिहासको सन्दर्भमा थप उत्सुकता निम्त्याउने गरी विभिन्न प्रसंग समावेश गरिएको घिमिरेले बताउनुभयो । पत्रकारले सतहीरुपमा लेख्छन्, अध्ययन, अनुसन्धान गर्दैनन् भन्ने समाजको बुझाई विपरित एकजना पत्रकारले मुलुकको इतिहासलाई दस्तावेजीकरण गर्ने सन्दर्भमा महत्वपूर्ण कामको रुपमा शर्माका दुई कृति महत्वपूर्ण सावित हुने घिमिरेले दावी गर्नुभयो । लेखक शर्माले दुबै पुस्तक वस्तुनिष्ट र यथार्थलाई तटस्थ ढंगले प्रस्तुत गरेको घिमिरेले बताउनुभयो ।
लेखक सुधीर शर्माले दुबै पुस्तकलाई अनुसन्धानमूलक कृतिको रुपमा बुझ्नुपर्ने बताउनुभयो । शैलीगत रुपमा साहित्यको स्वरुपमा रहेको र पत्रकार र अनुसन्धानकर्ताको रुपमा अध्ययन, अनुसन्धानमा आधारित र थप अध्ययन अनुसन्धानका लागि कतिपय सन्दर्भ समेत उजागर गरिएको उहााले बताउनुभयो । दुई छिमेकी भारत र चीनमध्ये चीनलाई बुझ्न भाषा र अन्य विविध कारणले गाह्रो भएको उल्लेख गर्नुहुँदै दुई ठूला देशबीचको नेपालले चीनसम्बन्धमा बुझ्ने, विश्लेषण गर्ने र रणनीतिक हिसाबले काम गर्न विज्ञ व्यक्तिहरु आवश्यक रहेको बताउनुभयो । चीन भारतसँग नभई अमेरिकासँगको प्रतिस्पर्धामा रहेको, विश्वकै पहिलो शक्ति राष्ट्र बन्न अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै लेखक शर्माले भारत र नेपालसँगको सम्बन्ध नबिग्रियोस् भन्ने मात्रै चाहिरहेको स्पष्ट पार्नुभयो । तत्कालिन राजा महेन्द्रले लामो समय शासन गर्न पाएकाले अन्तर्राष्ट्रिय कुटनीतिमा लामो समय काम गर्न पाएको बताउनुहुँदै महेन्द्रले चीन, भारत र अमेरिका तीनै शक्ति राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्न सफल भएको शर्माले बताउनुभयो ।
चीन विरोधी खम्पा बिद्रोहीलाई नेपालको भूमि प्रयोग गर्न दिएर राजा महेन्द्रले अमेरिकाको समर्थन र सहयोग लिएको उल्लेख गर्नुहुँदै लेखक शर्माले तत्कालिन राजा महेन्द्रले आफ्नो शासनसत्ता टिकाउन महत्वपूर्ण कुटनीतिक अभ्यास गरेको बताउनुभयो । लामो अवधिको नेपाली इतिहासलाई व्याख्या गर्दै गर्दा फरक फरक सन्दर्भको उल्लेख गरिएको र ‘भिक्षु, व्यापार र विद्रोह’ शीर्षकको पुस्तकलाई सिलसिलावद्ध ढंगले नपढी शीर्षक अनुसार छुट्टाछुट्टै अध्ययन गर्न सकिने बताउनुभयो । गत असोजमा सार्वजनिक भएको शर्माका दुई पुस्तकको यसअघि पोखरामा पनि विमर्श गरिएको छ । राजनीतिज्ञ, साहित्यकार तथा विद्यार्थीहरुको उपस्थितीमा शर्माका कृति माथि विमर्श गरिएको हो ।