निर्वाचन आयोगले तयार पारेको नमूना मतपत्र ।

हेटौँडाः यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले देशभरको ४९ स्थानमा हुने उपनिर्वाचनमा पद अनुसार छुट्टा छुट्टै नमुना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले बागमती प्रदेशको ७ पदका लागि दल र स्वतन्त्र उम्मेदवार सहितको चुनाव चिन्ह समावेश गरेर सार्वजनिक गरेको छ । आयोगले हेटौंडा–१२ को वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका १२ जना उम्मेदवारको चुनाव चिन्ह समावेश गरेर नमुना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले नमुना मतपत्रमा २०७९ को निर्वाचनमा दलहरुले समानुपातिकतर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरेको छ भने नयाँ दल प्रतिस्पर्धामा आएको खण्डमा आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएको दलको वर्णानुक्रमका आधारमा क्रम निर्धारण गरिएको छ । स्वतन्त्र उम्मेदवारको हकमा दल पछिको क्रममा वर्णानुक्रमअनुसार मतपत्रमा चुनाव चिन्ह समावेश गरिएको छ ।

उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने छन् ।