हेटौंडाः हेटौँडामा जारी तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको उपाधिका लागि जोरपाटी र आयोजक नागस्वती ‘बी’ बीच भिडन्त हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको प्रतियोगितामा शुक्रबार सेमीफाइनल खेल भएको थियो ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा हेटौंडा भेट्रान्स क्लबलाई १–० गोलअन्तरले हराउँदै जोरपाटी भेट्रान्स र दोस्रो सेमीफाइनल खेलमा लेकसाइड भेट्रान्सलाई १–० गोलअन्तरले हराउँदै आयोजक नागस्वती भेट्रान्स ‘बी’ फाइनलमा प्रवेश गरेको हो । जोरपाटीको जीतमा सुरज सुवेदी र आयोजकको जीतमा राजकुमार घिसिङले निर्णायक गोल गरेका थिए । म्यान अफ द म्याच निर्णायक गोलकर्ता सुवेदी र घिसिङ घोषित हुँदै ट्रफि प्राप्त गरेका छन् ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।