कोभिड–१९ को कारणले २०७६ चैत ६ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक र निजी विद्यालयहरू हालसम्म बन्दै छन् । अझै पनि विद्यालय यही दिनबाटै खुल्छ भन्ने यकिन देखिँदैन । विद्यार्थीको पढाई ठप्प नहोस् भन्ने मनसायले निजी विद्यालयले बैशाखको आधाआधीबाटै अनलाइन र दूर शिक्षाबाट पठनपाठन गराउँदै आएका छन् भने सार्वजनिक विद्यालयले पनि सरकारको निर्देशन अनुसार असार १ गतेदेखि अनलाइन, दूरशिक्षा, टिभि र रेडियोबाट पठनपाठनको शुरूवात गर्दै आएका छन् ।

अर्चना दहाल

विद्यालय बन्द हुने प्रक्रिया एउटै भए पनि विभिन्न प्रविधिको प्रयोग गरी पठनपाठनको शुरूवात भने फरक देखिन्छ र पनि हाल आएर सरकारले निजी विद्यालयलाई कुनै पनि सहयोग नगर्ने, विद्यालयले अभिभावकबाट कुनै शुल्क पनि लिन नमिल्ने र निजी विद्यालयका शिक्षकहरूले चार महिनासम्म बेतलबी घरमा बस्नुपर्ने जस्ता नाजायज निर्णय गरेर निजी विद्यालयका शिक्षक, कर्मचारीका साथै देशका ३० प्रतिशत विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै छ । सरकारले निजी विद्यालयका शिक्षक, कर्मचारीलाई आफ्नो देशका नागरिक नै नभए जस्तो घृणित व्यवहार देखाउँदै अहिलेको परिस्थितिमा निजी विद्यालय बन्दै गर्नुपर्नेसम्म निर्णय गर्न बाध्य गराउनु कति जायज होला ?

केही समय अगाडि सार्वजनिक विद्यालय सुधार गर्न निजीलाई नै जिम्मा लगाउने जस्ता निर्णय गर्ने सरकारले यतिखेर निजी विद्यालयप्रतिको सोचको विषयमा गरिएको निर्णयलाई के भन्न सकिन्छ त ? अझै पनि निजी विद्यालयले आगामी दिनहरूमा भएका सबै सार्वजनिक बिदाका दिनमा विद्यालय सञ्चालन गरी शिक्षण गराउन तयार हुँदाहुँदै पनि उनीहरूलाई हेयको दृष्टिकोणले हेरिनुमा निजी विद्यालयको दोष के त ? के निजीका शिक्षक, कर्मचारी यस देशका नागरिक होइनन् ? अनि निजीका शिक्षकहरूले विद्यालयलाई कमाउने भाँडो मात्रै बनाएका छन् त ?

एउटै प्रक्रियामा घरमा रहँदै आएका शिक्षक, कर्मचारी कसैले पूरापूर तलब पाउने कसैले बेतलबी नै बस्नुपर्ने जस्तो निर्णय कति सान्दर्भिक होला ? यदि यी दुईप्रपि बिल्कुलै फरक सोच हो भने निजी विद्यालय खोल्न दिईएको अनुमति केका लागि ? पढाइको अवस्थालाई हेर्ने हो भने पनि निजी र सार्वजनिक विद्यालयको नतिजा विश्लेषणले छर्लङ्ग पारेको देखिन्छ । विद्यालय सञ्चालनको कुरा गर्ने हो भने सार्वजनिकको तुलनामा निजी केही बढी नै सञ्चालन भएका छन् । त्यसैले अहिलेको परिस्थितिमा आएर गरिएको सरकारको निर्णयप्रति बौद्धिक, बुद्धिजीवी र शिक्षाविद्हरूको ध्यानाकर्षण गराउँदै सही निर्णयमा पुगियोस् भनी हार्दिक अपिल गर्न चाहान्छु ।

(दाहाल हेटौंडास्थित एक निजी विद्यालयकी शिक्षक हुनुहुन्छ ।)