हेटौंडाः रौटहट जिल्लाको कटहरिया नगरपालिकामा जारी मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मकवानपुर प्रवेश गरेको छ । शनिबार कटहरियामा भएको सेमीफाइनल खेलमा जनकपुरलाई १ सय २३ रनले हराउँदै मकवानपुरले फाइनलमा आफ्नो स्थान बनाएको हो । टस हारेर पहिलो व्याटिङका लागि मैदानमा उत्रिएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । मकवानपुरका शुभ कंसकारले सर्वाधिक ७१ रन बनाएका थिए । विशाल फुँयाल र सक्षमले २०/२० रनको योग्दान दिएका थिए ।
जवाफी व्याटिङमा उत्रिएको जनकपुरले १६ ओभर २ बलमा ४२ रन बनाउँदै अल आउट हुन पुगेको थियो । जनकपुरका लागि साइमन रोयले १८ रनको योगदान दिए । मकवानपुरका असीम श्रेष्ठले सर्वाधिक ४ विकेट लिए । यस्तै पिउस शर्मा र समीस चौलागाईँले समान २/२ विकेट लिए । भोलि सोमबार हुने फाइनल खेलमा मकवानपुर जिल्लाले आयोजक कटहरिया नगरपालिकाको टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने मकवानपुरका टिम कप्तान सुमन सुनारले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको हो । कार्तिक १६ गतेबाट सुरु भएको मेयरकप क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्लासहित ८ वटा टिमको सहभागिता रहेको थियो ।