हेटौँडाः ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रबार घोषणा भएको छ । २३ सदस्यीय राष्ट्रिय टिममा मकवानपुर जिल्लाबाट मात्रै ५ जना समेटिएका छन् । मकवानपुरबाट राष्ट्रिय टिमका नियमित सदस्य अञ्जन विष्ट, आयुष घलान, विमल पाण्डे र छिरिङ लामासँगै यस पटक अन्जल महर्जन पनि राष्ट्रिय टिममा समेटिएका छन् ।
राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार नेपाली टोलीको घोषणा गर्नुभएको हो । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । थ्री नेसन्स कपमा नेपाल, आयोजक ताजिकिस्तान र अफगानिस्तानको सहभागिता रहनेछ । नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपरमा किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार रहेका छन् । डिफेन्डरमा अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल र अन्जल महर्जन महर्जन रहेका छन् । मिडफिल्डरमा रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान र सुमित श्रेष्ठ छन् भने फरवार्डमा जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट र निराजन धामी छानिएका छन् ।