पुरस्कार वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा भएको बिनय बाबु स्मृति भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ । फाइनल खेलमा आयोजक बिनय बाबु स्मृति प्रतिष्ठान ‘ए’ लाई ३–२ को सेटले हराउँदै मंगलेश्वरले उपाधि जितेको हो । बिनय बाबु स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार थाहा नगरपालिका–२, थानाबजारमा सम्पन्न भएको फाइनल खेलमा मंगलेश्वरले आयोजक ‘ए’ लाई २५–२७, २६–२४, २५–२०, १८–२५ र १५–१० पराजित गरेको हो ।

यस्तै, सशक्त युवा क्लब तृतीय भएको छ । मनहरी गाउँपालिकालाई हराउँदै सशक्त युवा क्लब तेस्रो भएको हो । २ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा १७ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानले तिहारको अवसर पारेर ६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, तृतीय हुने टिमले ११ हजार १ सय ११ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै मंगलेश्वरका खेलाडी बलराम सुवेदीले ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै मंगलेश्वरका उत्सव आले मगर उत्कृष्ट सेटर, उत्कृष्ट प्रशिक्षक योग स्याङ्तान, उत्कृष्ट स्पाइकर आयोजक ‘ए’ का रमेश थिङ, उत्कृष्ट ब्लकर आयोजकका सुजल कार्की र उत्कृष्ट लिब्रो सुजल कपाली घोषित हुँदै जनही २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रष्ठिानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षमा तथा थाहा नगरका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीको पनि आतिथ्य रहेको थियो ।