रिकभरिङ नेपालको साधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री सुरजचन्द्र लामिछाने ।

हेटौंडाः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकारले लागूऔषध न्यूनीकरण लागि काम गर्दै आएको बताउनुभएको छ । लागुऔषध दूव्र्यसनहरुलाई पुनःस्थापन गर्न क्रियाशील संस्थाहरुको छाता संस्था रिकभरिङ नेपालको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री लामिछानेले चाडपर्व सकिएलगत्तै लागूऔषधको दुव्र्यसनीबाट बालबालिकालाई मुक्त बनाउनका लागि प्रहरीसँग छलफल गर्ने बताउनुभयो । राज्यका सबै निकायले लागुऔषध प्रयोगकर्ताहरूलाई पुनःस्थापन गर्ने काममा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

लागुऔषध प्रयोगकर्ताको उपस्थिति भएको स्थानहरूमा अभिमुखीकरण गर्न सबै लाग्नुपर्ने मन्त्री लामिछानेले स्पष्ट पार्नुभयो । प्रदेश सरकारले चेतनामूलक कार्यक्रमका लागि ५० लाख रूपैयाँ बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जिल्ला प्रहरी कार्यालय मार्फत लागूऔषध तस्करी नियन्त्रणका लागि अनुसन्धान गरेर तस्करीलाई करवाही प्रक्रियालाई अगाडि बढाउने गरेको बताउनुभयो ।

कामको सिलसिलामा आफू अन्य जिल्लाहरूमा रहँदा प्रयोगकर्तालाई मूल्याङ्कन गरेको उहाँले बताउनुभयो । लागूऔषध प्रयोगकर्ताहरूमा विभिन्न रोगहरू फैलने र चोरी, डकैती जस्ता काममा संलग्न हुने गरेको उहाँको भनाई छ । गैरसरकारी संघ, संस्थाको प्रयासले यसलाई न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । लागूऔषध दूव्र्यसनमा परेकाहरुलाई सुधार गर्ने पुनःस्थापना केन्द्रहरूको अनुसन्धान गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

संस्थाका केन्द्रीय अध्यक्ष दिलिप गुरूङले लागूऔषध प्रयोगकर्ताहरूलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने कुरामा बागमती प्रदेश सरकारले पहल गर्नुपर्ने बनाउनुभयो । प्रयोगकर्ताहरूलाई अपराधीकरण भन्दा पनि एकीकरण गरेर लागूऔषधबाट मुक्त गर्ने काममा लाग्नुपर्ने उहाँको भनाइ थियो । १६ वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिहरूलाई लक्षित गरेर चेतनामूलक कार्यक्रम आयोजना गरेको उहाँले बनाउनुभयो । कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालको पनि उपस्थिति रहेको थियो । साधारणसभामा सातै प्रदेशका ५५ जिल्लाका ९७ जना प्रतिनिधि सहभागी छन् ।