कार्यसम्पादन सम्झौता व्यवस्थापनको एउटा महत्वपूर्ण औजार हो । कुनै पदीय जिम्मेवारी तोकिएको व्यक्तिलाई कामको प्रभावकारिता, गुणस्तर, समयसीमा, लागत, परिणाम, जिम्मेवारी, जवाफदेहिता तथा प्रोत्साहन सुविधालगायत किटान गरी मापनयोग्य सूचकका आधारमा कामको मूल्यांकन गर्ने व्यवस्थासहित संगठन र जिम्मेवार पदाधिकारीबिचको करारलाई कार्यसम्पादन सम्झौता भनिन्छ । यस्तो करार वा सम्झौता सार्वजनिक निकायमा कार्यरत कुनैपनि व्यक्तिसँग माथिल्लो ओहदाका व्यक्तिले गर्ने गरिन्छ । व्यक्तिलाई तोकिएको कामलाई सकेसम्म प्रष्टरुपमा मापन र मूल्यांकनयोग्य बनाएर पुरस्कार र दण्डको व्यवस्था गर्न यस्तो सम्झौता उपयोगी मानिन्छ । तोकिएको कामको कामको गुणस्तर, समयसीमा, लागत, परिमाण, जिम्मेवारी र जबाफदेही लगायतका पक्षमा ध्यान दिई सकेसम्म वस्तुगतरुपमा मापनयोग्य परिसूचकहरु निर्माण समग्र कार्यसम्पादनको मूल्यांकन गर्न यस्तो सम्झौता आवश्यक हुन्छ ।
नेपालका व्यावसायिक, निजी तथा गैरसरकारी क्षेत्रमा कार्यसम्पादन सम्झौता पहिलादेखि नै प्रयोग हुँदै आएको भए पनि हाल सार्वजनिक सेवाका क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिसँग माथिल्लो वा कार्यकारी पदमा रहेका व्यक्तिले कार्यसम्पादन सम्झौता गर्ने लहर नै चलेको छ । दुई महिनाअघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीहरु र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए । मुख्यमन्त्रीले कार्यसम्पादन सम्झौता गरेको दुई महिना भइसक्दा त्यसको प्रगति वा प्रभावकारिताको मूल्यांकन भइरहेको छ वा छैन भन्ने कुरा सार्वजनिक भएको छैन । राजनीतिक प्रचारबाजीको रुपमा गरिने यस्ता सम्झौता औपचारिकतामा सिमित हुने गरेको विगतका धेरै उदाहरणहरु छन् । मुलुकको सार्वजनिक वा सरकारी क्षेत्रमा कार्यसम्पादन सम्झौता गर्न सकिने व्यवस्था विभिन्न ऐन, नियममा भएकै कारण कार्यसम्पादन सम्झौता गर्ने परिपाटीले व्यापकता पाउँदै गएको भए पनि यसको उपादेयता मूल्यांकन हुन नसकेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि आफ्ना मातहतका प्रहरी एकाइका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । करिब तीन साताअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारी लिनुभएका प्रहरी उपरीक्षक विश्वराज खड्काले सोमबार नियमित मासिक बैठकमा मातहतका प्रहरी कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखसँग गरेको वार्षिक कार्यसम्पादन सम्झौताकै आधारमा प्रहरी उपरीक्षक खड्काले मातहतका प्रमुखसँग सम्झौता गरेको बताइएको छ । जिल्लामा अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, प्रहरीको क्षमता अभिवृद्धि तथा समग्र लक्ष्य प्राप्तिका लागि वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयसहित सम्पूर्ण प्रहरी एकाइलाई जिम्मेवार र उत्तरदायी बनाउन वार्षिक कार्यसम्पादन सम्झौता गरिएको छ । कार्यसम्पादन सम्झौतासँगै मातहतका प्रहरी एकाइ प्रमुखहरुलाई आवश्यक निर्देशनसमेत दिइएको छ ।
कार्यसम्पादन सम्झौतासँग जोडिएका संगठन, पद र तिनको कार्यप्रकृति तथा कार्यविवरण, परिसूचकहरुको निर्माण, तिनको वस्तुगत मापनीयता स्पष्ट हुनुपर्छ । यिनैका आधारमा गरिने मूल्यांकनको वस्तुगत विश्वसनीयता, त्यसको स्तर र श्रेणीकरण, सो मूल्यांकनको नतीजाका आधारमा दिइने पुरस्कार र दण्डको प्रत्याभूति पनि उत्तिकै आवश्यक छ । कार्यसम्पादन सम्झौता गर्ने लहर चलेकै आधारमा औपचारिकताका लागि सम्झौता गरिनुको कुनै अर्थ रहँदैन । कार्यसम्पादनका क्रममा आवश्यक पर्ने स्रोतसाधन, अख्तियारी र अनुकूल कार्यवातावरणको सुनिश्चितताजस्ता पक्षमा पनि कार्यससम्पादन सम्झौतासँगै ध्यान दिनु आवश्यक हुन्छ । तोकिएको जिम्मेवारीलाई प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता सान्दर्भिक भए पनि कार्यसम्पादन स्तर मापनसँगै पुरस्कार वा प्रोत्साहन र दण्ड वा कारबाहीको व्यवस्था हुन्छ कि हुँदैन भन्ने पक्ष महत्वपूर्ण हुनेछ ।