ज्येष्ठ नागरिकसँग अन्तरक्रिया गर्दै इलाका प्रहरी कार्यालय पालुङका प्रहरी ।

हेटौँडाः ईलाका प्रहरी कार्यालय पालुङले जेष्ठ नागरिकसँग अन्तरक्रिया गरेको छ । मंगलबार ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा थाहा नगरपालिका वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकसँग अन्तरक्रिया कार्यक्रम गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बावु अर्यालले जानकारी दिनुभयो ।

कार्यालयले आयोजना गरेको अन्तरक्रियामा ६० वर्ष भन्दा बढी उमेरका १५ जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो । ज्येष्ठ नागरिकलाई आफ्नो हक, अधिकारको बारेमा जानकारी गराउने गरी कार्यक्रम गरिएको प्रहरी निरीक्षक अर्यालले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकमाथि हिंसा भएमा सहेर बस्न नहुने र हिंसा बारेमा उजुरी गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रहरी निरीक्षक अर्यालका अनुसार कार्यक्रममा ज्येष्ठ नागरिकले सवारी साधनमा आवतजावतका लागि गाह्रो भएको भनी गुनासो गरेका थिए । ज्येष्ठ नागरिकहरुलाई अहिलेको समयमा सवारी साधनमा छुटको व्यवस्था भएको, सिटको व्यवस्थाहरु र बढीजसो साधनमा चढाउन नमान्ने गरेको समेत गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय पालुङमा पछिल्लो समय ज्येष्ठ नागरिकका कुनै किसिमका गुनासा नरहेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिनुभएको छ । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।