सुशीला शर्मा


गत डिसेम्बरदेखि छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोभिड–१९ नामक भाईरस महामारीले सारा विश्व आक्रान्त र त्रसित छ । विश्वभरमा ५ लाख ७३ हजार भन्दा बढी मानिसहरुको मृत्युु भईसकेको छ भने संक्रमणको दर बढ्दो क्रममै छ । भाईरस महामारीले शक्तिशालीदेखि लिएर महाशक्तिशाली मानिएका राष्ट्रहरु पनि आक्रान्त छ । संसारभरका मुलुकलाई कोभिड–१९ संक्रमण नियन्त्रणमा ल्याउन आच्छु आच्छु परिरहेको छ । विगत ६ महिनायता वैज्ञानिकहरु यस भाईरसको खोप या औषधीको लागि अहोरात्र खटिरहेका छन् । डाक्टर, नर्स लगायत स्वास्थ्य प्रदायक संघ, संस्थाहरु अहोरात्र विरामीको हेरचाहमा लागिरहेका छन् । कैयौं स्वास्थ्यकर्मीहरुले नै आफ्नो जीवन बलिदान गरिसके यस महामारीको क्षणमा । प्रत्येक शताब्दीमा यस्ता खाले महामारीले करोडौं मानिसका ज्यान लिएको घटनाबारे पनि हामीले पढ्यौं, सुन्यौं । महामारी सँगसँगै यसका कारण र उपचारका लागि वैज्ञानिकहरुले खोज, अनुसन्धान र त्यसका पुष्टि पनि गर्दै आए र हरेक समस्याहरुका खोज निरन्तर नै छ ।

हामी नेपालीहरु केही समय अगाडिसम्म यो रोगले हामीलाई छुँदैन । हाम्रो रोग प्रतिरक्षाशक्ति बलियो छ । हामीले दादुरा विरुद्धको विसिजिको खोप लगाएका छौं त्यसैले यो भाईरसले छुन सक्दैन समेत भनिरहेका थियौं । सरकारले पनि महामारीको हल्लीखल्ली नमच्चिउन्जेल सम्म यस स्वास्थ्य समस्यामा खासै चासो देखाएको थिएन । तर अहिले परिस्थितिले कोल्टे फेरिसकेको छ । नेपालमा पनि झण्डै १७ हजार व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । नेपालमा कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भईसकेको छ । उनीहरु मार्फत कतिजनालाई संक्रमण भयो होला भन्ने स्थिति छ । विगत चैत्र ११ गतेदेखि नेपाल सरकारले लकडाउनको आदेश जारी गरेको छ र हालसम्म पनि हामीहरु लकडाउन मै छौं र आउँदा दिनहरुमा कसरी जीवन गुजारा गर्ने भन्ने चिन्तामा पनि छौं । हुन त हामी अहिले कोरोनाको महामारीको मृत्यु संख्या गन्दै आतिएर बसिरहेका छौं तर भोकमरीबाट मर्नेको संख्या पनि त दैनिक १५ भन्दा बढी रहेछ नि । यो कुरा चाहिँ हामी अघाउने वर्गमा परेकोले वास्ता नै पो नगरेका रहेछौं कि, जुन अहिले श्रमिकहरु परिस्थितिलाई वास्तै नगरी भोकको खातिर यताबाट उता भौतारिएबाट झल्यास्सँ गराउँछ ।

हामी जो केही सचेत छौं, दुई छाक सजिलै खान पुगेको छ, पढे–लेखेकोमा गनिन्छौं र आफूलाई मध्यमवर्गीय भन्न पनि रुचाउँछौं यो कहरमा सचेत भएका छौं । खानका लागि केही सञ्चित छ, आ–आफ्ना ठाउँमा बसेर केही साँेचिरहेका छौं, राय सल्लाहहरु दिईरहेका छौं र लिईरहेका छौं । तर कुरा यति मात्र छैन । केहीबेर मजदूरका कुरा गरौं न । अहिले हामीलाई दुख्या छैन, पोल्या छैन, घोचेको नि छैन, कामबाट आउने ज्याला छैन, त्यसैले हामी हि“ड्न चाहन्छौं, हिडेरै आफ््नो थात थलो फर्कन चाहन्छौं, आफ्नो परिवार भेट्न चाहन्छौं, मरे मरियोस् आफ्नै ठाउँ देश र माटोमा परिवार सँगै मर्न चाहन्छौं भनेर सिमानाका नदी तरेर, प्रहरीसँग मुठभेड गरेरै र पैदल यात्रा गरेरै भए पनि आफ्नो गाउ“ ठाउँमा फर्कन चाहन्छन र फर्किरहेछन् मजदूरहरु । भर्खरै नलागेको रोगको चिन्तामा अहिलेको भोक कसरी बिर्सने सायद यही साँेचिरहेका होलान् । यदि ती मजदूरहरु पनि दक्ष भित्र पर्थे भने व्यवस्थित भएर आफ्नै गाउँ ठाउँ, शहर र परिवारभित्र बस्थे होलान्, कोरोना जस्ता महामारीका विषयमा सतर्क हुँदै सुरक्षित भएर यस विषयमा आफ्ना राय पनि दिन्थे होलान् । न कि जोखिम मोलेर श्रम गरिरहेका हुन्थे । विश्व महामारीले अहिले लाखौं नेपाली मजदूरहरु खाडी मुलुकमा अलपत्र परिरहेका छन्, ती श्रमिकमा पुरुष मात्र नभएर महिलाहरु नी त्यतिकै छन् । ती मजदूरहरुको विषयमा अहिले नै नसाँेचिए र आवश्यक रोजगारीको पहलकदमी र योजना नबनाईए उनीहरु फर्केर आएपछिको बेरोजगारीको भयावहता पनि कल्पना गरिसक्नु छैन ।

हामीले गाउने गीत मजदूरहरुको किसानहरुको, आउ मिलाउ हाम्रा हातहरु, हिँड मेरा दाई हो झम्पल बोकेर, हिँड मेरी दिदी हो डोको बोकेर जस्ता गीत सुन्दै गुन्गुनाउँदै हुर्केका हामीहरु र यिनै गीतहरु मार्फत जनजागरण गरेर क्रान्ती गरेका नेताहरु । यिनै नेताहरुको एकमुष्ठ सरकार छ अहिले । अनि ती श्रमिकहरु र तिनका सन्तानहरुले आफ्ना धर्म छोडेका छैनन् । त्यो धर्म भनेको श्रम गरिरहनु हो । चाहे त्यो श्रम देशभित्र होस् या विदेशमा गएर भए पनि । तिनै श्रमिकहरुमध्ये नै यो महामारीको कहरमा ठाउँ ठाउँमा अलपत्र परे र आवाजविहिन भए । कतिपय अरेवियन देशहरुमा नेपाली श्रमिकहरु विचल्लीमा परिरहेको खबरहरु छन् तिनै श्रमिकका रेमिटयान्सले देशका अर्थतन्त्रको भार बेहोरेको त सर्वविदितै छ । तिनै श्रमिकहरु देश फर्किए भने उनीहरुको कामको व्यवस्थापन गर्ने योजना सरकारसँग छ या छैन ? युवा, किशोर मजदुरहरु जो भारतमा मजदुरी गर्दथे स्वदेश फर्केपछि क्वारेन्टिनमै दर्दनाक ढंगले झाडापखालाको कारण, प्यासको कारण मर्नुपरेको घटनाले जो कोहीलाई आहत बनाएको छ ।

सरकारका विभिन्न निकाय, लगायतका संघ, संस्थाहरुले राहतमा प्याकेटका प्याकेजको व्यवस्था गरेको छ । गाउँघर, शहरबजारतिर र राहत लिनेको भागदौड पनि देखिन्छ मिडियातिर थुप्रै तस्विरहरु राहत कार्यक्रमका देखिन्छन् । कुरा यति हो कि असली आवश्यकता भएका मान्छेले राहत लिए या नक्कलीले । के मिलिरहेको छैन यहाँ भोकभोकै लालाबाला सहित पोका पन्तुरा बोकेर ज्यामी, मजदूरहरु गन्तव्यतिर हिँडिरहेछन्, संंख्याको हिसाबले मजदूरको संख्या न्यून देखिएर हो या अन्य कारणले सरकारको ध्यान नपुगेको, ध्यान पुगिहाले पनि घटनाहरु छताछुल्ल भएपछि मात्र यो समाजवाद उन्मुख सरकारको उपस्थिति जनाएको जस्तो गर्छ । लकडाउन भनेर सरकार आफैं कानमा तेल हालेर, आँखामा पट्टि बाँधेर, र विवेक बन्धकी राखेर बसेको भान पनि हुन्छ कहिलेकाहीँ ।
यही लकडाउनको सिलसिलामा नै कतै बिरामीले उचित उपचार नपाएको कुरो कतै डाक्टरले नै प्रहरीको लाठी खाएको कुराहरु समाचार बनेर आईरहे । उपयुक्त अस्पताल, उपचार पद्दति, विरामी र स्वास्थ्य संस्थाबीचको दूरीका कुरा सहज स्वास्थ्य उपलब्धताका सवाल जहिल्यै उठिरहने र दूर दराजमा सामान्य स्वास्थ्य उपचारका सुविधा पनि नपाई जनताहरु विचल्लीमा परिरहेका सवाल उठिरहने हाम्रो देशमा अहिले विश्वमै फैलिएको महामारीले अछुतो रहन सकेको छैन साँच्चै विकसित देशमा अहिलेको महामारी रोक्न जुन हम्मे–हम्मे परेको छ हाम्रोमा त्यस्तै संक्रमण भयो भने त्यो हाम्रो कल्पना भन्दा बाहिरको अवस्था हुनेछ । धन्न त्यो नहोस् भन्ने कामना गरौं । यो अवस्थामा आफ्नो ज्यानको पर्वाह नगरी सेवा दिन प्रतिवद्ध स्वास्थ्यकर्मीलाई लाठी बजार्ने प्रहरीलाई के त्यस्तो समस्या परेछ कुन्नी होला प्रहरीलाई पनि आफैं संक्रमणमा परिएला भन्ने तनावका साथै माथिका आदेश मिश्रित लौरो सर्वसाधारण तथा स्वास्थ्यकर्मीमाथि बजारे छन् ।

लकडाउनको समयभित्र बलात्कार र घरेलु हिंसाका घटनाहरु निरन्तरता पाएकै छ । विपत्तिहरुमा आपराधिक मानसिकता भएकाहरु जुर्मुराउनु र अपराध कर्म गर्नु त झन नियमित जस्तै भएको छ र यसका चपेटामा महिला तथा बालिकाहरु नै बढी पर्ने गर्छन् । ऋण र आर्थिक अभावका कारणले मानिसहरुले आत्महत्या गरेका घटना पनि बढिरहेकै छ । यो विषयमा त झन सरकारका सवै स्थानीय तह तथा सरकारी गैरसरकारी संघ, संस्थाहरु चनाखोे भएर यस्ता क्रियाकलाप रोक्नेतर्फ सजग हुने तथा यस्ता घटना भइहालेमा अपनाउनुपर्ने कानुनी लगायतका उपचारसेवाहरु चुस्त दुरुस्त हुनुपर्ने हो ।

नेपालमा अहिले दुई तिहाईवाला र जनताले चुनेर पठाएका जनताको लागि भनिएका सरकार छ । देश संघीयताको अभ्यास गरिरहको छ । जनताको हरेक आवश्यकता, विकास, शिक्षा लगायतका आम एजेन्डाहरु स्थानीय सरकारकै सरोकारभित्र पर्दछ भन्ने कुराहरु सुनिन्छन् । सरकारले विभिन्न प्रस्तावहरु, निर्णयहरु प्रस्तुत गरिरहेको हुन्छ । कतिपय सरकारका योजनाहरु महत्वाकांक्षी छन्, कुनै त हावामा महल ठड्याउने खालका पनि लाग्छन् । अहिले बहुमतको कम्युनिष्ट सरकारको कार्यावधी पनि ३ वर्ष सकिएको छ । साँच्चै सर्वसाधारणले सरकारको गन्न लायक, भन्न लायक, महसुस गर्न लायक काम खोई औंलामा गन्न सकिने अवस्था पनि देखिँदैन साँच्चै भूइँमान्छेको लागि चाहिँ । सरकार जनतालाई घरभित्र थुनेर, आफू मिल्दो, बेमौसमको बाजा बजाउन लागेको कुरा यी अध्यादेश लगायतका निर्णयले देखाईरहेछ । खोई ईतिहासका एजेण्डा जुन जनताका लागि भनेर तय गरिएका थिए ।

सरकारका प्रमुख पदमा आसिनहरुमध्ये नै कमिसन, भ्रष्टाचारको मोहजालमा फसेर उदांगो पनि भएका छन् भने यस्तो महामारीको जटिल अवस्थामा समेत तीव्र रुपमा स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गराउनुपर्नेमा तिनै स्वास्थ्य सामाग्री खरिदमा समेत भ्रष्टाचारको गन्ध आयो । एकप्रकारले जो यस सरकारप्रति आशावादी थिए, मतदाता थिए, केही त गर्ला भन्ने आशामुखी थिए, उनीहरु सरकारभित्रैका नेताहरुको बक्तव्यवाजी, घमण्डीपन, पद र धन सम्पतिको लोलुपता देखेर आफैं शीर झुकाउन बाध्य छन् ।
कति नकारात्मक कुरा मात्रै गर्नु, सरकारको पक्कै पनि सरकार सञ्चालन या देश सञ्चालनको लागि नेतृत्व टोलीमा निकै विद्वान, त्याग, बलिदान दिएका वर्गहरु, अनुभवी विद्वानहरु यो देश र समाजको लागि केही गर्छु भन्नेहरु पनि त पक्कै होलान् । ढिलो निर्णय गरे पनि सरकारले लकडाउन गर्ने, अस्पतालमा कोरोना जाँच गर्ने प्रविधि, क्वारेन्टिन, आईसोलेसन, उपचार वार्डहरु स्थापना गर्नु, सिमा–नाकामा मानिसका आवतजावतमा नियन्त्रण गर्नु, अन्तर्राष्ट्रिय उडानहरु रद्द गर्नु, विभिन्न संघ संगठनमार्फत राहतको व्यवस्था गर्नु लगायतको कार्यहरु गरिरहेछ ।

तर, जो दैनिक ज्याला मजदूरी गरेर दुईछाक टार्ने, परिवार पाल्ने पेशामा छन्, त्यही मजदुरीबाट बालबच्चा पढाउने, हुर्काउने गरिरहेका छन् उनीहरुलाई भाईरस, व्याक्टेरिया, महामारी भन्दा पनि भोक र दैनिक ज्यालाको चिन्ता छ उनीहरुको विषयमा चाहिँ सरकार साँच्चै उदासिन देखिएको भान भयो । ती मजदुर काठमाडौंमा बस्ने उपाय नदेखेपछि हिँडेरै चार पाँच दिनको यात्रा गरेको दृश्यबाट आँकलन गर्न सकिन्छ ।

जनताको गीत गाएर, श्रमिकको गीत गाएर, उनीहरुको पनि सुख र समानताको दिन आउँछ भन्दै तिनै सर्वहारा र श्रमिक किसान लगायतको गरिखाने वर्गको मत बटुल्दै ती वर्गको लागि हामी छौं भन्ने नेतृत्वले गरिब, मजदुर कस्ता हुन्छन् भन्ने पनि बिर्सिसकेको भान हुन्छ । लौ न्यून संख्याको बारेमा सरकारको ध्यान नपुगेको माने पनि यो तीन महिनादेखिको शून्य समयभित्र नेतृत्व तहले धेरै सामाजिक समस्याहरुको बारेमा लेखाजोखा गर्दै जुनसुकै बेला आईपर्न सक्ने प्राकृतिक, तथा महामारी समस्या र त्यसबाट सबभन्दा बढी प्रभावित हुने समुदाय, भँुईतहसम्मका लागि समेत धेरै कार्यक्रमहरु योजनाहरु गर्न सक्ने समय यो कोरोना कहरले दिएको छ सरकारलाई यदि साँच्चै जनताकै सवालमा नै सरकार केन्द्रित छ भन्ने देखाउनु छ भने । आशा गरौं यो कोरोना कहरभित्र सरकारले थुप्रै जनमुखी काम गरेको देख्न पाईनेछ ।