कम्युनिष्ट नेतृ बालकुमारी थापाको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीकी बालकुमारी थापाको सोमबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बालकुमारी थापाको पार्थिव शरीरलाई घरमै लगिएको र आज मंगलबार बिहान दाहसंस्कार गरिने नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभएको छ । मुटुको समस्याको उपचार गराउँदै आउनुभएकी थापाको ६६ वर्षको उमेरमा निधन भएको हो ।

पञ्चायकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय महिला नेतृले नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरुलाई साथ र सहयोग गर्नुभएको बताइन्छ । तत्कालीन राजा वीरेन्द्र शाहले २०३६ साल जेठ २ गते जनमतसंग्रह घोषणा गरेलगत्तै तत्कालीन नेकपा मालेले भने सक्रिय बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यत्तिबेला थापाको घरमा नेकपा मालेले पार्टी सेल्टर बनाएको र नेकपा मालेका तत्कालीन महासचिव सीपी मैनालीसहित झलनाथ खनाल, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, मदन भण्डारी, जीवराज आश्रित, प्रदीप नेपाल लगायत नेताहरू सहभागी केन्द्रीय कमिटी बैठकले यो निर्णय गरेको थियो । मकवानपुरकै पहिलो सेल्टर थापाको घरलाई २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालय जस्तै बनाइएको थियो ।