हेटौंडाः हेटौंडा–४ गर्दोईकी सुस्मिता केसी हत्याकाण्डमा वादी तथा प्रतिवादीको पक्षका वकिलहरुको बहस सकिएको छ । मंगलबार थुनछेक बहस सकिएको छ । सुस्मिता केसीको मुद्दामा पक्षबाट सरकारी वकिलको कार्यालयसँगै ११ जना अधिवक्ताले वकालत गरिरहेका छन् भने प्रतिवादीको पक्षमा ४ जना अधिवक्ताहरुले वकालत गरिरहेका छन् ।
सुस्मिता केसीको पक्षबाट सरकारी वकिलको कार्यालयसँगै ११ जना वकिलले वकालत गरिरहेका छन् । सुस्मिताको पक्ष्ँबाट अधिवक्ताहरु ध्रुवप्रसाद चौलागाई, मनप्रसाद भट्टराई, मदन कुमार दाहाल, चम्बल चौलागाई, बालकृष्ण अधिकारी, अप्सरा बस्नेत, श्रद्धा ढुंगाना, रामशरण लामिछाने, गोपाल आचार्य, रामकृष्ण देउला र फूलमाया रानाभाटले वकालत गरेका छन् । यता अभियुक्त थापा परिवारको पक्षबाट अधिवक्ता ऋषि केवी, सुशील पोखरेल, कृष्ण अर्याल र पुस्कबहादुर थापाले वकालत गरेका छन् । मंगलबार थुनछेक बहस सुनेको मकवानपुर जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीले आज बुधबार थुनछेक आदेश दिनुहुने बताइएको छ ।
सरकारी वकिलको कार्यालयले पेश गरेको मुद्दाको विवरण, हत्या अभियोगमा पक्राउ परेका अभियुक्तहरुको वयान, वादी तथा प्रतिवादी वकिलहरुको बहस सुनिसकेपछि न्यायाधीशले आज अभियुक्तहरुलाई थुनामै राखेर मुद्दाको अनुसन्धान गर्ने या धरौटी या साधारण तारेखमा थुनामुक्त गरी मुद्दाको अनुसन्धान गर्ने भनी आदेश दिने सुस्मिता केसीको पक्षमा वकालत गर्ने एक अधिवक्ताले जानकारी दिनुभएको छ । अदालतमा सुस्मिता केसीका ससुरा प्रकाश थापाले हत्या गरेको स्वीकारेका छन् भने दुई नन्द र सासुले भने आफूहरु हत्यामा संलग्न नभएको वयान दिएका छन् ।
सुस्मिताको हत्याको घटनापछि जाहेरी निवेदन दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाका बारेमा अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा जिल्ला अदालतमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले सुस्मिताका ससुरा प्रकाश थापा र कान्छी नन्द सीता थापालाई आजीवन कारावासको सजाय माग गरेको छ भने जेठी नन्द दुर्गा थापा र ज्वाई अरुण कार्कीलाई जन्मकैदको सजाय माग गरेको छ । यस्तै सासु तुलसा थापालाई साढे १२ वर्ष कैद सजायको माग गरेको छ । सुस्मिताका ससुरा, सासु, दुईजना नन्द प्रहरी हिरासतमै छन् भने ज्वाई अरुण कार्की भने फरार छन् ।
सुस्मिताको हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै मंगलबार पनि सयौं महिला जिल्ला अदालत आसपास भेला भएका थिए । सोमबार अभियुक्तहरुको वयान चलिरहँदा पनि महिलाहरुले जिल्ला अदालत आसपास हत्यारालाई मृत्युदण्डको माग गर्दै प्रदर्शन गरेका थिए ।