हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा काठमाडौंमा रोकिनुभएको छ । बिहीबारदेखि निरन्तरको वर्षाका कारण सडक सञ्जाल ठप्प हुँदा मुख्यमन्त्री लामा काठमाडौंमा रोकिनुभएको हो ।
शनिबार पार्टीको कार्यक्रममा सहभागी हुन नुवाकोट पुग्नुभएका मुख्यमन्त्री लामा साँझ काठमाडौं फर्कनुभएको थियो । कांग्रेस नुवाकोटको आयोजनामा भएको कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री लामा विपद्को घटना बढ्दै गएपछि काठमाडौं फर्कनुभएको थियो । शनिबार साँझ नै काठमाडौं फर्कनुभएका मुख्यमन्त्री लामाले जुमबाट मन्त्रिपरिषद् बैठक बसेर विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिको विवरण संकलन गर्ने, बन्द सडकहरु संचालनको व्यवस्था गर्ने लगायतका निर्णय गर्नुभएको छ ।
हेटौँडा आउने तयारीमा रहनुभएका मुख्यमन्त्री लामा सडक सञ्जाल ठप्प हुँदा काठमाडौंमा नै रोकिनुभएको छ । सडक अवस्था ठिक भएको खण्डमा आइतबार बिहान हेटौंडा फर्किने तयारी मुख्यमन्त्री लामाको थियो । तर, हेटौँडा–काठमाडौैं जोड्ने सबै सडकहरु पहिरो र बाढीले बन्द हुँदा काठमाडौंमा नै रोकिनुभएको छ ।
मुख्यमन्त्री लामासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, बिना विभागीय मन्त्री मदुकुमार श्रेष्ठ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम खड्का, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, स्वास्थ्य मन्त्री किरण थापा काठमाडौंमा रोकिनुभएको छ भने आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल हेटौँडामै हुनुहुन्छ । युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन पीतृशोकका कारण गृह जिल्ला ललितपुरमा हुनुहुन्छ ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ छैमलेमा रोकिनुभएको छ । काठमाडौंको कार्यक्रम सकेर चित्लाङमा हुने मन्त्रालयको कार्यक्रममा सहभागी हुन जाने क्रममा छैमलेको पहिरोले मन्त्री तामाङलाई रोकेको हो । हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा पहिरो खस्दा शुक्रबारबाट मन्त्री तामाङसहित ५ जना छैमलेमा रोकिनुभएको छ । पहिरोमा रोकिनुभएकी मन्त्री तामाङ होटेलमा बस्नुभएको छ । उहाँ बस्नुभएको होटल नै पहिरोको जोखिममा परेपछि स्थानीयको घरमा आश्रय लिनु परेको थियो ।
दुम्जामा रोकिनुभएका मन्त्री लामिछानेलाई हेलिकप्टरबाट उद्दार गरिँदै
आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने सिन्धुलीको दुम्जा रोकिनुभएको छ । सिन्धुलीको एक प्रहरी भवन उद्घाटनका लागि पुग्नुभएका मन्त्री लामाछाने शनिबारदेखि दुम्जामा रोकिनुभएको हो । मन्त्री लामिछानेसहित ८ जनाको टोली दुम्जाको पहिरोले रोकिएको हो । पहिरोमा रोकिनुभएका मन्त्री लामाछानेको टोली सिन्धुली फर्किने तयारीमा छ । वीपि राजमार्गमा खसेको पहिरो र बाढीका कारण धुलिखेल र सिन्धुली दुवै तर्फको सडक बन्द रहेकाले दुम्जामा नै रोकिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।
सडकमार्ग हुँदै धुलिखेलतर्फ जाने सम्भावना नरहेकाले सिन्धुली बजारतर्फ नै फर्किने तयारी गरिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामासँग नियमित सम्पर्कमा रहेको र विपद् सम्बन्धी निर्णयका लागि काठमाडौं जाने तयारी रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री लामिछानेको टोलीमा रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीका अनुसार पहिरो पन्छाउँदै सिन्धुली फर्किने र हेटौँडा आउने तयारी रहेको छ । पहिरोमा रोकिएको अवस्थामा पनि सुरक्षित स्थानमा रहेर विपद्को घटनाबारे तथ्यांक संकलन, आवश्यक निर्देशन तथा व्यवस्थापनमा काम गरिरहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले प्रदेशका मन्त्रीहरुलाई सडक सञ्जाल सञ्चालन नभएसम्म सम्बन्धित स्थानमा नै रहने आग्रह गर्नुभएको छ । अधिकांश मन्त्रीहरु काठमाडौं नै रहेको, केही हेटौँडामा र २ मन्त्री पहिरोमा रोकिएकाले उहाँहरुलाई सम्बन्धित स्थानमा नै रहन आग्रह गरिएको उहाँले जानकारी दिनुभएको छ । विपद्बाट बागमती प्रदेशले धेरै ठूलो क्षति व्यहोर्नुपरेको मुख्यमन्त्री लामाले बताउनुभयो । नागरिकहरु विपद्बाट प्रभावित भइरहेकाले प्रदेश सरकारले ठोस निर्णय गर्ने गरी मन्त्री काठमाडौं झिकाउने तयारी भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेलाई काठमाडौं बोलाउनुभएको छ । मन्त्री काफ्लेले सम्भव रहेसम्म गाडीमा, सडकको अवस्था ठिक नभएकाले सिमराबाट काठमाडौं जाने तयारीमा रहेको बताउनुभयो । उता दुम्जामा रोकिनुभएका मन्त्री लामिछानेलाई काठमाडौं झिकाउन मुख्यमन्त्री लामाले हेलिकप्टर पठाउने तयारी गर्नुभएको छ । उहाँले मन्त्री लामिछानेको टिम काठमाडौं झिकाउन नेपाली सेनाको हेलिकप्टर पठाउन अनुरोध गर्नुभएको छ । सेनाको हेलिकप्टर प्राप्त नभएकाले निजी हेलिकप्टर पठाएर मन्त्री लामिछानेलाई काठमाडौं झिकाउने तयारी रहेको मुख्यमन्त्री लामाले बताउनुभयो । मन्त्री लामिछाने बिना विपद्का कुनै पनि निर्णय हुन नसक्ने र प्रदेश सरकारले गर्ने निर्णयमा अर्थ र कानुन मन्त्रालय महत्वपूर्ण हुने भएकाले काठमाडौं झिकाउने तयारी गरिएको मुख्यमन्त्री लामाले बताउनुभयो ।
“मैले आर्थिक मामिला र कानुन मन्त्रीलाई काठमाडौं बोलाएको छु । सिमाराबाट अर्थमन्त्री काठमाडौं आउनुहन्छ । दुम्जामा रोकिनु भएका कानुन मन्त्रीलाई भने हेलिकप्टरबाट ल्याउने तयारी रहेको छ । सेनासँग कुरा गरेको छु । सेनाको हेलिकप्टर राहत वितरण र उद्दारमा प्रयोग भइरहेकाले २ बजेसम्म नभएमा निजी हेलिकप्टर पठाउँछु । निजीमा ५ जना मात्र अट्ने रहेछ । २ बजेपछि पनि भएन भने पठाउने तयारी छ ।” उहाँले भन्नुभयो ।