पुलसँगै बागमती नदीले कटान गरेको क्षेत्रमा मर्मत गरिँदै ।

हेटौँडाः मकवानपुर र सिन्धुली जोड्ने मदन भण्डारी लोकमार्ग (हेटौँडा–सिन्धुली–धरान–चतरा) सडकखण्ड सुचारु भएको छ । आइतबार बागमती गाउँपालिकाले सडकको खाल्डो पुरेर सडकखण्ड सुचारु भएको हो ।

शनिबार बिहान ११ बजेर ५० मिनेटको समयमा बागमती नदीले बागमती गाउँपालिका–४, पाँचपाण्डवस्थित पक्की पुलको दक्षिण–पश्चिमतर्फको भाग बगाएसँगै सडकखण्ड अवरुद्ध भएको थियो । शनिबार नदीले बगाएको भाग मर्मत गर्न नसकेपछि आइतबार बिहानबाटै गाउँपालिकाले सडक सञ्चालनका लागि कसरत गरेको थियो ।

गाउँपालिकाले आफ्नै स्रोत–साधन प्रयोग गरेर सडक मर्मत गरेको हो । सडक सुचारु भएसँगै आइतबार दिउँसोदेखि आवागमन सुरु भएको छ । बागमती–४ का वडाध्यक्ष दन्तलाल माझीले सडक निर्माणका ठेक्का पाएका कम्पनि र सडक विभागको लापरबाहीका कारण उक्त क्षेत्रको जनताले सधै सास्ती भोग्दै आइरहेको बताउनुभयो । बागमती नदीको पुलसँग जोडिएको दक्षिण–पश्चिमतर्फका करिब ३ सय मिटर सडक ड्यामसहित बलियोसँग निर्माण नगर्दा बाढीले क्षति पुर्याउने र बाढी वस्ती र खेतमा पसेर सधैं क्षति पुग्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार शनिबार सडक भत्काएर बाढी बस्तीमा पस्दा घर, टहरा र धानखेतमा क्षति पुगेको छ ।