प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ।

हेटौंडाः बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाहरुलाई उद्दारमा विशेष प्राथमिकता दिन अनुरोध गर्नुभएको छ । आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै विपद् प्रभावितहरुलाई तत्काल उद्दार, राहत तथा स्वास्थ्य सेवा प्रदानमा यि वर्गलाई विशेष प्राथमिकता राख्न अनुरोध गर्नुभएको हो ।

वर्षाका कारण प्रदेशभित्रका जिल्लाहरुमा क्षति पुर्याएको उल्लेख गर्नुहुँदै उहाँले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । विपद् प्रभावितहरुलाई तत्काल उद्दार, राहत तथा स्वास्थ्य सेवा प्रदान गर्न बागमती प्रदेश सरकार र मातहतका सम्बन्धित सबै स्थानीय तहहरूले आपतकालीन स्वास्थ्य टोली तयार राख्न, औषधी र आवश्यक सामग्रीको भण्डार सुनिश्चित गर्न, अस्पतालहरूमा वैकल्पिक शैय्याको व्यवस्था गर्न, तथा पीडित प्रभावितहरूको उपचारका लागि थप शैय्याहरू उपलब्ध गराउन विशेष पहल गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले वर्षा रोकिएपछि पनि हुनसक्ने भूक्षय र पहिरोबाट उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ ।