हेटौँडाः बिहिबारदेखिको अविरल वर्षाका कारण संघीय राजधानी काठमाडौंसहित बागमती प्रदेशको मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, चितवन जिल्लामा ठूलो क्षति पु¥याएको छ । मकवानपुर जिल्लामा ६ किशोर खेलाडीसहित ७ जनाको मृत्यु भएको छ भने सडक पूर्वाधार, आवासीय भवनहरु र खाद्यान्नबालीमा क्षति पुगेको छ ।
हेटौँडा–काठमाडौं जोड्ने सडकहरुमा ठूलो क्षति पुगेको छ । सडक र पुलमा पुगेको क्षतिलाई सुधार गर्न निक्कै समय लाग्ने देखिएको छ । वर्षासँगै बाढीको जोखिमका कारण सुरक्षित स्थानतर्फ जाने क्रममा शनिबार बिहान पहिरोमा परी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा ६ जना किशोरको पहिरोले पुरेर एउटै स्थानमा मृत्यु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरीस्थित बात्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालन गरेको एकेडेमीमा आवद्ध हेटौँडा–१२ का अनुपम घलान, सिस्नेरीकै दिवस बानियाँ, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, बारा जिल्लाका विकल रेग्मी, सर्लाही जिल्लाका आदित्य बलपाकी र काठमाडौंका रियान्स आचार्यको मृत्यु भएको हो । शनिबार बिहान विद्यालयमा बाढीको जोखिम रहने भनी सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । एन्फा मकवानपुरका अध्यक्ष तथा एन्फा केन्द्रीय समिति सदस्य समेत रहनुभएका टिकराम लामाका अनुसार विद्यालयबाट सुरक्षित स्थान जाने क्रममा ६ जना किशोर फरक बाटो पछ्याउने क्रममा पहिरोमा परेका हुन् ।
एकेडेमीमा ४० जना किशोर फुटबल सिक्दै आएका थिए । गत बैशाखदेखि एन्फाले सिस्नेरीमा एकेडेमी सञ्चालन गर्दै आएको थियो । एकेडेमीका ३४ जना भने सुरक्षित स्थानमा पुगेका थिए । स्थानीय प्रशासन, सुरक्षा निकायको सहयोगमा एन्फा एकेडेमीका ३४ जना किशोरसहित मृतक ६ किशोरको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
यस्तै मकवानपुर जिल्लाको बागमती गाउँपालिका–३, सुक्खा सल्यनीमा एक घर पहिरोले पुरिएको छ । पहिरोले घर पुरिँदा २० वर्षीया फूलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । शुक्रबार राती ११ बजेको समयमा सुक्खा सल्यनीस्थित रहर सिंह थिङको घर पहिरोले पुरिएको थियो । प्रहरीले शनिबार बिहान मात्रै जानकारी प्राप्त भएपछि घटनास्थल पुगेको जनाएको छ ।
वर्षाका कारण सडक अवरुद्ध भएपछि मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा एक गर्भवती महिलाको उद्दारमा समस्या भएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको भनी स्वास्थ्यकर्मीले अस्पताल लैजान भने पनि वर्षाका कारण बाटो बन्द रहेकोले ३१ वर्षीया गर्भवती बिमला थिङको उद्दारमा समस्या भएको स्थानीय श्रमिक लामाले जानकारी दिनुभएको छ ।
सुत्केरी व्यथा लागेपछि स्थानीय फाखेल स्वास्थ्य चौकी पुर्याइएकी थिङलाई स्वास्थ्य चौकीले सुत्केरी गराउन नसक्ने र अस्पताल लैजान भने पनि अस्पतालसम्म पुर्याउन समस्या भएको लामाले जानकारी दिनुभएको छ । “रातीको समय छ । गर्भवतीलाई सुत्केरी व्यथा लागेर समस्या भइसक्यो । रक्तचाप बढेर अवस्था जटिल बन्दैछ”, श्रमिक लामाले भन्नुभयो, “सडक अवरुद्ध हुँदा कसरी उद्दार गर्ने भन्नेमा कठिनाई भइरहेको छ ।”