बाढीले क्षति पुर्याएको सिमखोलाको पुल र सडक ।

हेटौँडाः हेटौंडा र काठमाडौं बीचको सडक सम्पर्क बिच्छेद भएको छ । शनिबार आएको बाढी र पहिरोले हेटौंडा–काठमाडौं जोड्ने सबै सडक सम्पर्क टुटेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा काठमाडौं जोड्ने सबै बाटो बन्द भएको छ ।

बाढी र पहिरोका कारण छोटो दुरिको कान्ति लोकपथमा आवागमन ठप्प छ । कान्ति लोकपथ सडकखण्डको बकैया–१२ घट्टेपाखा, बकैया–११ लाम्राङ, आपचौरमा पहिरोको कारण बाटो बन्द छ भने सोही सडकमा बागमती खोलामा आएको बाढिले भिमफेदी–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको ईन्द्रसरोवर–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर बाटो पूर्णरुपमा अवरोध भएको छ । ईन्द्रसरोवर–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले सडक कटान गरी बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । सो सडक खण्डको कुलेखानी जलविद्युत आयोजनाको ड्यामभन्दा तल रहेको सिमखोलाको पुलमा बाढीले क्षति पुगेको छ । जलविद्युत आयोजनाको जलाशयबाट छाडिएको पानीको बहावले पुलको एक स्पान र उत्तरतर्फको बाटो एक सय मिटरभन्दा बढी बगाएको छ ।

हेटौंडा–भिमफेदी–कुलेखानी काठमाडौं सडक खण्ड अन्तर्गत भिमफेदी–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । फाखेल–हुमाने, चखेल–मातातीर्थ–सतुङगल सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्रिभुवन राजपथ सडक खण्डको थाहा–५ दामनस्थितमा पहिरोको कारण बाटो पूर्णरुपमा अवरोध भएको छ भने कुलेखानी मार्खु भित्री सडक खण्डको ईन्द्रसरोवर–१ सिम्लाङस्थित पहिरोको कारण बाटो पूर्णरुपमा अवरोध भएको छ ।