हेटौंडाः १६ औं संस्करणको काठमाडौं म्याराथनमा हेटौंडा उपमहानगरपालिकाका सन्तोष गौतमले रजत पदक जितेका छन् । शनिबार काठमाडौंको दशरथ रंगशालामा सम्पन्न भएको प्रतियोगितामा गौतमले १५ मिनेट १ सेकेन्डमा ५ किलोमिटर दौड पूरा गरेर द्वितीय हुँदै हेटौंडा उपमहानगरपालिकालाई रजत पदक दिलाउन सफल भएका हुन् ।
गौतम हेटौंडामा नियमित किकफिट प्रशिक्षणमा सहभागी हुने गरेको किकफिट सर्किटका प्रशिक्षक राजाराम पोखरेलले जानकारी दिनुभएको छ । प्रशिक्षणको समयमा आयोजना गर्ने गरेको दौड प्रतियोगितामा पनि गौतमले राम्रै प्रस्तुति गर्ने गरेको प्रशिक्षक पोखरेलले बताउनुभयो । एथ्लेटिक्सका खेलाडी गौतम गतवर्ष पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितासम्म सहभागी हुन सफल भएका थिए । द्वितीय भएका गौतमलाई रजत पदक र गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रशिक्षक पोखरेलले बताउनुभयो ।
उनलाई पछि नगद पुरस्कार पनि प्रदान गर्ने बताइएको छ ।
हेटौंडा उपमहानगरपालिकाबाट सहभागी भएका २० जना खेलाडीमध्ये ५ किलोमिटरकै दौडमा सुभास योञ्जन ७ औं स्थानमा पर्न सफल भएको प्रशिक्षक पोखरेलले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी हुनुअघि हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई ट्रयाकसुटसहित बिदाइ गरेको थियो ।
करिब ४ महिनाको किकफिट सर्किट प्रशिक्षणमा हेटौंडाका ४६ जना खेलाडीहरुलाई सहभागी गराएर २० जना छनोट गरी प्रतियोगितामा सहभागी गराएको प्रशिक्षक पोखरेलले बताउनुभयो । प्रतियोगितामा १२ वर्षदेखि अधिक उमेर समूहका खेलाडीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । खेलाडीलाई प्रशिक्षणको माध्यमबाट मनोबल बढ्ने, स्वस्थ हुने आत्मबल बढ्ने र प्रतिस्पर्धा गर्न सक्नेबारे प्रशिक्षण गराएको उहाँले बताउनुभयो ।
एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजना तथा इन्ड्राइभको सहकार्यमा भएको प्रतियोगितामा हेटौंडा उपमहानगरसहित काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका र पाटन महानगरपालिका, बुटवल, मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकाका खेलाडीहरुको सहभागिता रहेको थियो । खेलप्रति रुचि भएका र धावक बन्न इच्छा भएका खेलाडीहरुलाई लक्षित गरेर एनआरएस स्पोर्टस् फाउण्डेसनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरेको छ ।