उपाधिसाथ बास्केटबल पुरुष टिम ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसको आयोजनामा भएको दोस्रो संस्करणको बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बीआइएम र महिलातर्फ स्नातक तहले जितेको छ । बुधबार म्यानेजमेन्ट कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ दश जोड दुई व्यवस्थापन संकायलाई हराउँदै बीआइएमले र महिलातर्फ दश जोड दुई तहलाई हराउँदै स्नातक तहले उपाधि जितेको हो ।

पुरुषतर्फ दश जोड दुई तहलाई ३०–८३ को विशाल अन्तरले बीआइएमले पराजित गरेको हो । यता महिलातर्फ दश जोड दुई तहलाई स्नातक तहले ४–२५ ले पराजित गरेको हो । उपाधि विजेता टिमले ७ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै पुरुषतर्फ बीआइएमका सुलभ लामा र महिलातर्फ बीआइएमकै पूजा योञ्जनले जनही ३ हजार रुपैयाँ र ट्रफि प्राप्त गरेका छन् । यस्तै महिलातर्फ कक्षा–१२ की रुविकन प्रधान र पुरुषतर्फ उदय श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । पुरुषतर्फ विधान श्रेष्ठ हस्टलर घोषित हुँदा उत्कृष्ट डिफेन्स विशाखा भट्टराई घोषित हुँदै एक हजार पाँच सय रुपैयाँसहित ट्रफि प्राप्त गरेका छन् ।

उपाधिसाथ बास्केटबल महिला टिम ।

प्रतियोगिता ६ वटा पुरुष र २ वटा महिला गरी जम्मा ८ टिमको सहभागिता रहेको थियो । कलेजका सहायक प्रधानाध्यापक राम पण्डित खनालको सभाध्यक्षता तथा म्यानेजमेन्टको योजना तथा विकास विभागका निर्देशक दिपेश जोशीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । पुरस्कार वितरण कार्यक्रममा शैक्षिक निर्देशक प्रद्युम्न उपाध्याय र बास्केटबल प्रशिक्षक क्षितिज लामाको उपस्थिति रहेको थियो । हेटौँडा स्कूल अफ म्यानेजमेन्टले क्रिकेट र बास्केटबलमा प्रशिक्षक नै नियुक्त गरेर विद्यार्थीलाई नियमित प्रशिक्षण र प्रतियोेगिताको आयोजना गर्दै आएको छ ।