हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, धादिङ, नुवाकोट र रामेछापमा एकैदिन ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–३, शान्तिचोकमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१५ का ३४ वर्षीय जीवन मग्राती रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान २ बजेर १० मिनेटमा वीरगन्जबाट भरतपुरतर्फ जाँदै गरेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोकिँदा मग्राती गम्भीर घाईते भएका थिए । घाइते मग्रातीलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएकोमा उपचारको क्रममा बिहान २ बजेर ४२ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कन्टेनर चालक बारा जिल्लाको गढीमाई नगरपालिका–५ का ३६ वर्षीय श्याम सुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–६, देवनगरमा शौचालयमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६१ वर्षीय चन्द्र प्रसाद न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ६ बजेको समयमा न्यौपाने शौचालय भित्र घोप्टो अवस्थामा मृत फेला परेका थिए ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, नवजागृति सामुदायिक वनमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा कालिका नगरपालिका–५, अजम्बरी टोल बस्ने ५५ वर्षीय बाबुराम परियार रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो ३ बजेको समयमा परियार जंगली जनावरको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । परियार शनिबारदेखि नै घरमा नरहेको खुलेको प्रहरीले जानकारी दिएको छ । परियार जंगलमा निउरो, च्याउ टिपी बेच्ने र मादक पदार्थ सेवन गरी हिँडने गरेका थिए ।
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४, आरुबासमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय दिल बहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार मगर अरिङ्गालको गोलो पोल्न गएका थिए । अरिङ्गालले टोकेर घाइते मगरलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी लगिएको थियो । जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौैंस्थित छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान ८ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१, हाईक्याम्पमा लेक लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको पूर्व बुलिङ्टार गाउँपालिका–५ जौबारी घर भई हाल चितवन जिल्लास्थित भरतपुर आँखा अस्पतालमा काम गर्ने २३ वर्षीय उमेश मल्ल रहेको प्रहरीले जानकारी दिएको छ । मल्ल शुक्रबार २ जना साथिसहित नुवाकोटको बाटो हुँदै गोसाईकुण्ड घुम्न जाने क्रममा हाईक्याम्प पुग्दा श्वास फेर्न समस्या भएको थियो । मल्ललाई उपचारका लागि आइतबार बिहान ७ बजेर ३० मिनेटको समयमा जिल्ला अस्पताल त्रिशुली पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२, लामीडाँडामा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय नर बहादुर बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । बस्नेत आइतबार राती १० बजेर ४५ मिनेटको समयमा आफ्नै घरदेखि पर सैपु कुप्री भस्मे भीरबाट सैपु ढाडेतर्फ जाने गोरेटो बाटोबाट ३ सय मिटर तल खसी मृत्यु भएको थियो । बस्नेत आइतबार बिहान ११ बजेर ४५ मिनेटको समयमा कसैलाई जानकारी नगराई आफुखुसी घरबाट निस्कि हिँडेका थिए ।