सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–१०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा युवतीको हत्या भएको छ । आइतबार साँझ ५ बजेको समयमा होटलमा युवक र युवती दुईजना पुगेका थिए । सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक हेटौँडा–११ निवासी २३ वर्षीया एलिसा न्यौपाने भएको प्रहरीले जानकारी दिएको छ । सँगै आएका युवकले न्यौपानेको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको प्रहरीको भनाइ छ । होटलको आगन्तुक पुस्तिकामा उल्लेख गरिएको विवरणअनुसार मोवाइल नम्बर गलत टिपाएको बताइएको छ ।

वडाअध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार आइतबार साँझै हत्या गरेर युवक निक्सिएको देखिन्छ । साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र आइतबार साँझ ७ बजेर ५९ मिनेटको समयमा युवक होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा कैद भएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । सोमबार बिहान ढोका खोलेर हेर्दा मृतक युवतीको आँखामा चोट लागेको, कोठा रक्ताम्य भएको वडाअध्यक्ष लामाले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।