रमेशप्रसाद लामिछाने

१. हाल संस्कार र सभ्यताका प्रसंगहरु छरपष्ट भेट्न सकिन्छ । शिक्षाले संस्कार सिकाएन, चरित्र निर्माणमा ध्यान गएन भन्ने आवाज अधिक सुन्न सकिन्छ । विद्यालयले पनि मानवीय संस्कारका सवालमा वास्तै गर्दैन भन्ने पनि हामीले सुनेका छौं । शिक्षकहरु पनि परीक्षामा उत्तीर्ण गराउने कुरामा मात्र ध्यान दिन्छन् भन्ने गरिएको छ । संस्कृत शिक्षाको पढाई छैन, अनि कहाँबाट राम्रा आचरण भेटिनु त भन्नेहरु पनि कम छैनन् । नयाँ पिढीसँग आमा, बुवा, हजुरबा, हजुर आमा, ठूलोबा, ठूली आमा, काका, काकी, मामा, माईजु, दिदि, बहिनी, दाजुभाइ, कसैसँग बोल्ने फुर्सद यिनलाई छैन । बरु खाना नभए पनि हुन्छ तर मोबाईल फोन भएन भने प्राणै जाने जस्तो देखिन्छन् । नातागोता र आफन्तीहरुसँगको चिनजानसँग कुनै मतलब छैन । मान, सम्मान त कता हो कता । घरमा को आयो, को गयो पत्तो छैन । एकोहोरो जस्तो मानसिक रोगले ग्रस्त पारेको हो कि लाग्ने देखियो भन्नेहरु पनि छन् । विद्यार्थीको ध्यान पढाईमा छैन । अध्ययन गर्न नै चाहँदैनन् । सिकाई भनेपछि उनीहरु टाढिन्छन्, जस्ता भनाईहरु प्रत्येकका जिब्रोमै झुण्डिएको पाईन्छ ।

२. उल्लेखित प्रकृतिका आवाजहरु नसुनेका दिन नै छैनन् भन्दा अत्युक्ति नहोला । यस्ता खाले भनाईहरुमा सत्यता नै नभएको भन्न सकिँदैन । मात्रात्मक रुपमा कम–बेसीका अवस्था भेट्न सकिन्छ । पछिल्ला वर्षहरुमा देखिएको सामाजिक ब्यवहारमा आएको परिवर्तन हामी सबैले स्विकार्नै पर्दछ । सवाल आजका विद्यार्थीको मात्र हैन, सबै उमेर समूह, वर्ग, तह, पेशा, वर्ण, जातजाति, धर्म र भूगोलका मानिसहरुमा मानवीय संस्कारजन्य व्यवहारको खडेरी परेको तथ्यमा शंका छैन । अहिले विद्यालय तहका विद्यार्थी तथा ससाना बालबालिकालाई मात्र दोष थोपरेर पानी माथीको ओभानो बन्ने प्रवृत्ति हावी भएकै हो । अभिभावकहरुलाई आफ्ना छोराछोरीसँग बसेर कुरा गर्ने, खेल्ने, उनीहरुका कुरा सुन्ने फुर्सदै देखिँदैन । केटाकेटीहरुलाई समय केका लागि दिने, उनीहरुलाई स्वतन्त्ररुपमा सिक्न दिनु पर्छ भन्ने अभिभावकहरु पनि हामीले भेटेका छौं । प्रकृतिसँग अनि आफैंमा रमाएर केटाकेटीहरु स्वयम् सिक्दै हुर्कँदै गर्न पो उपयुक्त हुन्छ भन्ने कुरा त झनै बढि सुनिन्छ । यसमा बिदेश तथा सम्पन्न मुलुकहरुको देखासिकी पनि देख्न सकिन्छ ।

३. मानवीय संस्कार मानव जातिको पहिचानसँग जोडिएको छ । यस दुनियाँका प्रत्येक प्राणीको आफ्नो मौलिक विशेषताहरु हुन्छन् नै । पशु, पंक्षी, किरा, फट्याङ्ग्र, तमाम जलचर, स्थलचर, उभयचर सबै प्राणीहरुको आआफ्ना गुण र स्वभावले भिन्न पहिचान बनेको छ जस्को आधारमा फरक–फरक नामले यी जीव जगतलाई चिनाएको छ । मानव जातिको हकमा पनि यो लागु हुन्छ नै । आफ्नो परिचय स्वयम्ले कायम गर्ने हो, अरुले बनाइदिने होइन । शिक्षाले थप आभुषणको काम गर्छ । संस्कृत शिक्षा नभएर मानवीय संस्कार सकिने होइन । संस्कृतलाई प्राचिन भाषा मानिएको छ । संस्कृत शिक्षाले नैतिक शिक्षा, धर्म तथा संस्कृति एवम् चरित्र निर्माणमा थप सहयोग गर्दै आएको तथ्यमा कतै शंका छैन । मानवीय संस्कारजन्य शिक्षाको अभिभारा मात्र शिक्षण संस्थाले गर्नुपर्ने बुझाई फेरिनु पर्दछ । यो त आम नागरिकको पहिचानसँग जोडिएको छ । समाजसँग गाँसिएको छ । अभिभावकको कर्तव्य मानिएको छ । राष्ट्रको जिम्मेवारीसँग जोडिएको छ । कुनै उमेर समूहकाले मात्र पालना गर्नुपर्ने भन्ने होइन । जीवनको अन्तिम घडिसम्म पनि मान्छेले आफ्नो पहिचान गुमाउन हुँदैन भन्ने मान्यता भुल्नु हुँदैन ।

४. मानवीय संस्कारजन्य शिक्षा मुलतः अनौपचारिक शिक्षा हो । यो त व्यक्तिको स्वभावसँग जोडिएको छ । बानी तथा आचरणसँग जोडिएको छ । नयाँ आविष्कार, खोज तथा अनुसन्धानले अति उन्नत अत्याधुनिक प्रविधिको विकास भइरहेको छ । आधुनिक मान्छे यी पछिल्ला प्रविधिसँग खेल्न अति आकर्षित र आतुर देखिन्छन् । यस्लाई स्वभाविक मानिएको छ । अत्याधुनिक प्रविधिले यो सिङ्गो दुनियाँलाई साँघुरो, सहज, गम्य, सरल र बोध बनाएको छ । भिन्न–भिन्न संस्कृति, रीतिरिवाज, चालचलन, परम्परागत संस्कारहरु, सामाजिक संरचना, जाति, धर्म, भेषभुषा, भाषा, जीवनशैली, जस्ता कुरा एक वर्ग तथा समाज वा राष्ट्र–राष्ट्र बीच स्थानान्तरण तथा अन्तरघुलित हुनुलाई अन्यथा भन्न सकिँदैन । मूल सरोकार भनेको मानवताको संरक्षण र सम्वद्र्धन अर्थात एक मान्छेमा मान्छेकै गुण र चरित्र हुनै पर्दछ भन्नेसँग जोडिएको छ । वर्तमान युग स्पार्टाकालिन समय होइन, अनि प्राचिन युनानीकालका एथेन्स निवासी डायजेनिसका ब्यवहार तथा स्वभावको सिको वा नक्कल गर्ने युग र स्थानमा छैनौं भन्ने ज्ञान हुनु अनिवार्य छ ।

५. सानै उमेरबाट राम्रा कुराहरुको बानी लगाउने र उच्च चरित्र निर्माणका अभियानहरु व्यापक प्रारम्भ भएका छन् । शिक्षण संस्थाहरुले त औपचारिक रुपमै बुक फ्रि फ्राईडे घोषणा गरेर विद्यार्थीहरुलाई मौलिक पहिचानसँग जोडिएका संस्कारहरु, चाडपर्व, रीतिरिवाज आदि संस्कारयुक्त जीवनोपयोगी शिक्षा र सीपहरु सिकाउने अभ्यास गरिएको पाईँन्छ । दैनिक पढिने किताब अनि कक्षाकार्य र गृहकार्यको बोझका झोला बिसाएर रित्तै स्कूल गै नयाँ कुरा सिक्ने र आफ्ना प्रतिभाको प्रदर्शन समेत गर्ने अभ्यासले विद्यार्थी वर्गमा थप उत्साह र जाँगर श्रृजना गरेको सहजै देख्न सकिन्छ । यो सराहनीय थालनी हो । यसरी मानवीय संस्कारयुक्त शिक्षालाई औपचारिक शिक्षाकै अंग बनाउने अभ्यासलाई तीनै तहका सरकार अझ विशेषगरी स्थानीय तहबाट थप प्रोत्साहन र सहयोगको अपेक्षा गरिएको छ । अनौपचारिक रुपमा भने योगाभ्यासका क्रियाकलापहरु, जीवन विज्ञानका प्रवचनहरु अनि विभिन्न शिर्षकसँग जोडिएका प्रशिक्षणहरु र समुदायस्तरमा हुने आम सामाजिक क्रियाकलापहरुमा मानवीय चरित्र निर्माणका कक्षाहरु, नैतिक शिक्षाका दृष्टान्तहरु, राष्ट्रप्रेमका भावनाहरु, मौलिक पहिचानका अवयवहरुका सवालमा सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरु संचालन हुनुलाई सकारात्मक रुपमा लिनै पर्दछ र यो अभियानलाई थप व्यापक बनाउनमा सम्बद्ध सरोकार वर्गको भूमिका उच्च रहन्छ ।

६. अन्तमा, संस्कारयुक्त जीवनोपयोगी शिक्षा आजको आवश्यकता हो भन्नेमा कसैको बिमती छैन । यो शिक्षा औपचारिक मात्र नभई अनौपचारिक शिक्षाका रुपमा समेत सञ्चालन गर्न सकिन्छ । मानवीय संस्कारजन्य शिक्षा जीवन पर्यन्त शिक्षा हो । यो शिक्षा शैक्षिक प्रमाणपत्रका घेरामा सीमित छैन भन्ने तथ्य आत्मसात गरिनु राम्रो हुन्छ । विगतमा अभ्यास गरिएको प्रौढ शिक्षा तथा अनौपचारिक शिक्षालाई थप परिमार्जन र पुनर्संगठित गरी नयाँ पाठ्यक्रमका साथ निरन्तरतामा जोड्न सकिन्छ । अभिभावक शिक्षाका बारेमा चर्चा सुन्नमा आएको छ । शिक्षाका कार्यक्रमहरुमा जनप्रतिनिधिहरु तथा शिक्षाका उच्च प्रशासकहरुबाट अभिभावक शिक्षा बारे प्रसंग उठ्नुलाई सकारात्मक भन्नै पर्दछ । अब, कार्यान्वयनको पक्ष महत्वपूर्ण हुन्छ नै । अभिभावक शिक्षालाई कार्यक्रममा समावेश गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, सीप र ज्ञान दुबैलाई जोडेर सान्दर्भिक पाठ्यक्रम बनाउने, कार्यक्रमको कार्यान्वयन गर्ने र नतिजा समेत तुलना गर्ने अभ्यासमा स्थानीय तहकै विशेष भूमिका हुने भएकाले यसतर्फ सम्बन्धित जिम्मेवार तहको ध्यानाकर्षणका लागि यो आलेख बहसमा आउने अपेक्षा गरिएको छ । (लामिछाने सेवा निवृत्त शिक्षक हुनुहुन्छ ।)