हेटौंडाः हेटौंडाको राप्ती पुलदेखि मनहरी गाउँपालिकास्थित रजैया–ज्यामिरेसम्म राप्तीखोलामा र्याफ्टिङ सुरु भएको छ । शनिबारबाट नेचर एडभेञ्चर प्रालिले राप्तीखोलामा र्याफ्टिङ सेवा सुरु गरेको हो ।
शनिबार मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती र सञ्चारकर्मीहरुको उपस्थितिमा कम्पनीले सेवा सुरु गरेको हो । र्याफ्टिङपछि अध्यक्ष कालाखेतीले आफूले पनि पहिलो पटक र्याफ्टिङ गरेर मनोरञ्जन लिएको बताउनुभयो । यसलाई राम्रो व्यवस्थापन गरी व्यावसायिकरण गर्न सकेमा पालिकाभित्र आन्तरिक र बाह्य पयर्टक भित्रन मद्दत पुग्ने उहाँले बताउनुभयो । पालिकाले पर्यटन क्षेत्रका लागि महत्व दिने उहाँले आश्वासन दिनुभयो । उहाँले र्याफ्टिङ गरी मनोरञ्जन लिन आग्रह गर्नुभएको छ ।
नेचर एडभेञ्चर प्रालिले आन्तरिक पर्यटकहरुलाई मनोरञ्जनका लागि सेवा सुरु गरिएको बताएको छ । एडभेन्चर प्रालिमा २८ वर्षदेखि र्याफ्टिङ गराउँदै आइरहनुभएका कटक गुरुङले राप्तीमा पनि र्याफ्टिङ गराउन सम्भव छ भन्ने कुरा देखाउन खोजिएको बताउनुभयो । यसले आन्तरिक पयर्टक भित्रिनुका साथै पर्यटकहरुलाई मनोरञ्जन दिलाउन सकिने उहाँको भनाइ छ । अहिले गर्मी छल्न र्याफ्टिङ राम्रो हुने भन्दै उहाँले आफूहरु मनोरञ्जन दिनका लागि तयार रहेको बताउनुभयो । राप्तीखोला र्याफ्टिङका लागि सुरक्षित रहेको उहाँको भनाइ छ ।
हेटौंडादेखि रजैया र ज्यामिरेसम्म करिब ३ घण्टा राप्तीखोलामा र्याफ्टिङ हुनेछ । उक्त स्थानसम्म र्याफ्टिङका लागि अहिले प्रतिव्यक्ति ९ सय रुपैयाँ शुल्क तोकिएको छ । १० वर्षदेखि माथि उमेरकाहरुले मात्र र्याफ्टिङ गर्न पाउनेछन् ।