च्याउसम्बन्धी जानकारी दिनु हुँदै डा. देवकोटा ।

हेटौँडाः विषालु च्याउका कारण मकवानपुरमा चालु आर्थिक वर्षमा चार जनाको मृत्यु भएको छ । विषालु च्याउको बारेमा जानकारी नपुगेका कारण देशभर हरेक वर्ष सयौंको मृत्यु भइरहेको हो । २०२० सालको तथ्याङक अनुसार नेपालमा एक हजार २ सय ९२ प्रकारका च्याउ रहेका छन् । जसमध्ये ३ सय ५८ प्रकारका च्याउको पहिचान भइसकेको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा बिहिबार भएको पत्रकार अन्तरक्रियामा गण्डकीका वैज्ञानिक डाक्टर शिव देवकोटाले विभिन्न च्याउका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले गर्नु भएको अध्ययन अनुसन्धान अनुसार नेपालमा सय प्रकारका विषालु च्याउ रहेको जानकारी दिनुभएको छ । एक सय ५९ प्रकारका च्याउ खाद्य (खान मिल्ने), ७४ वटा औषधीय छन् भने २५ वटा अन्य प्रकार च्याउ रहेका छन् । यस्तै, विश्वमा एक हजार ४ सय प्रकारका च्याउ रहेका छन् ।

उहाँका अनुसार मकवानपुर जिल्लामा धेरै प्रकारका विषालु च्याउ रहेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार महिनामा विषालु च्याउका कारण मकवानपुर जिल्लाका २२ जना बिरामी भएका थिए भने चार जनाको मृत्यु भएको थियो । विषालु च्याउका कारण भइरहेको मृत्युलाई रोक्न मकवानपुरमा सर्वेक्षणको आवश्यकता रहेको डा. देवकोटाले बताउनुभयो । मकवानपुरसहित इलाम, चितवन, पाल्पा, गुल्मी, सल्यान, अर्घाखाँची जिल्लाहरूमा पनि विषालु च्याउ पाउने गरेको छ ।

प्रायः गिल्स भएको र माटोमा उम्रिने च्याउ विषालु हुने वैज्ञानिक डा. देवकोटाले जानकारी दिनुभयो । छिपिएका, भित्र कालो भएका, फेद कुहिएका, सल्ले च्याउ बाहेक थैलो भएको च्याउ र गिर्खा भएको च्याउ खान हुँदैन । डा. देवकोटाका अनुसार अमानिटा प्रजातिका च्याउ खाए ज्यान जाने गरेको छ । विषालु च्याउ खाएपछि पखाला लाग्ने, बान्त हुने र पेट दुख्ने गर्दछ । च्याउ खाएपछि यस्ता लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिन उहाँले आग्रह गर्नु भएको छ । धेरै ढिलो भएमा विषालु च्याउका कारण मुत्यु हुन सक्ने डा. देवकोटा बताउनुहुन्छ ।

नायूम, नंये, राती, बोसे, गोब्रे, धमिरे, माटे च्याउ खान योग्य च्याउ हुन् । च्याउलाई प्लास्टिकमा राख्न हुँदैन भने हावा लाग्ने गरी राख्नु पर्दछ । डा. देवकोटाका अनुसार धेरै मानिसमा जंगली च्याउको सेवन सम्बन्धी भ्रमहरु रहेका छन् । चाँदीको औंठी वा चम्चामा राख्ने, अण्डा र च्याउ मिसाउने, केहि मिसाएर पकाउने, बफाउने, जनावरले खाएको, सुकाएको विषालु च्याउ खान हुन्छ भन्ने भ्रम हटाउन आवश्यक रहेको उहाँले बताउनुहुन्छ ।