हेटौँडाः हेटौँडा अस्पतालको फार्मेसीबाट ३ वर्षको अवधिमा झण्डै ३८ करोड रुपैयाँ बराबरको औषधि बिक्री भएको छ । अस्पतालले फार्मेसीबाट ३ वर्षको अवधिमा ३७ करोड ९५ लाख ८२ हजार रुपैयाँको औषधि बिक्री गरेको हो ।
हेटौँडा अस्पतालको फार्मेसीबाट गत आर्थिक वर्ष २०८०/०८१ मा २० करोड २३ लाख ७१ हजार, आर्थिक वर्ष २०७९/०८० मा ११ करोड १८ लाख ७८ हजार र आर्थिक वर्ष २०७८/०७९ मा ६ करोड ५३ लाख ३३ हजार रुपैयाँ गरी ३ वर्षको अवधिमा ३७ करोड ९५ लाख ८२ हजार रुपैयाँको औषधि बिक्री भएको हो । अस्पतालले ३ वर्षको अवधिमा १८ करोड ४९ लाख २६ हजार रुपैयाँ बराबरको औषधि खरिद गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालले ९ करोड १९ लाख ३८ हजार रुपैयाँ बराबरको औषधि खरिद गरेको छ भने आर्थिक वर्ष २०७९/०८० मा अस्पतालले ५ करोड ५५ लाख ३४ हजार रुपैयाँ बराबरको औषधि खरिद गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा भने हेटौँडा अस्पतालको फार्मेसीका लागि ३ करोड ७४ लाख ५४ हजार रुपैयाँ बराबरको औषधि खरिद गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य बीमामा आवद्ध सेवाग्राहीले १७ करोड २० लाख २३ हजार रुपैयाँ बराबरको औषधि खरिद गरेका छन् भने आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य बीमामा आवद्ध सेवाग्राहीले ८ करोड ९२ लाख ५६ हजार रुपैयाँ बराबरको औषधि खरिद गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड ७ लाख २४ हजार रुपैयाँ बराबरको औषधि स्वास्थ्य बीमाका सेवाग्राहीले खरिद गरेको हेटौँडा अस्पतालको फार्मेसी इन्चार्ज डा. कौशलकुमार गुप्ताले जानकारी दिनुभएको छ ।
हेटौँडा अस्पतालले चालु आर्थिक वर्ष २०८१/०८२ को साउन १७ गतेसम्ममा एक करोड १६ लाख ३४ हजार रुपैयाँको औषधि बिक्री गरिसकेको छ । अस्पतालको फार्मेसीबाट दैनिकरुपमा साढे ५ लाख रुपैयाँ बराबरको औषधि बिक्री हुने गरेको छ । अस्पतालको ओपिडी सेवा सञ्चालन भएको अवस्थामा धेरै औषधि बिक्री हुने गरेको बताउँदै गुप्ताले सार्वजनिक बिदा परेको बेलामा दैनिक एक लाख रुपैयाँ बराबरको औषधि बिक्री हुने बताउनुभयो ।
हेटौँडा अस्पतालले नेपालमा नपाउने औषधि भारतबाट खरिद गरेर ल्याउने गरेको गुप्ताले बताउनुभयो । हेटौँडा अस्पतालमा औषधि खरिद गर्नेमा पार्टीतर्फ ११ जना र सर्जिकलतर्फ ४ जना रहेका छन् । हाल फार्मेसीमा एक जनामात्र स्थायी कर्मचारी रहेका छन् भने २५ जना करारका कर्मचारी रहेका छन् । फार्मेसीले अहिले आठ जना फार्मेसी सहायक माग गरेको छ ।
अस्पताल बाहिर भएका फार्मेसीहरुले संस्थालाई भन्दा बिरामीलाई सहज हुने गरेको गुप्ताले बताउनुभयो । ‘फार्मेसीमा औषधि सर्टेज भएको अवस्थामा बिरामीलाई बाहिर गएर औषधि ल्याउन सहज हुने गरेको उहाँको भनाइ छ । नेपाल सरकारले बीमामा १० प्रतिशत कटौती गरेपछि अस्पतालको नगद संकलन वृद्धि भएको छ । गुप्ताका अनुसार १० प्रतिशत बीमा कटौती भएपश्चात् पार्टीलाई भुक्तानी गर्न सहज भएको छ ।