हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । मध्यम तथा निम्न प्रकृतिको प्राविधिक विषय अध्ययनरत पालिकाका ३९ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको पालिकाले जनाएको छ । मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाले प्राविधिक शिक्षा सहयोग छात्रवृत्ति कार्यक्रम अन्तर्गत सहयोग गरिएको भीमफेदी गाउँपालिकाका शिक्षा शाखाका शैक्षिक सुपरिवेक्षक गोविन्द चौलागाईले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाले पालिका भित्रका विद्यालयमा ९ कक्षादेखि १२ कक्षासम्म अध्ययरत दलित विद्यार्थीलाई जनही ३ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ । २४ जना दलित समुदायका विद्यार्थीलाई नगद सहयोग वितरण गरिएको शैक्षिक सुपरिवेक्षक चौलागाईले बताउनुभयो । गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक काशिराम बज्यूको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, वडा अध्यक्षहरु सिताराम थापा, प्रितिलाल लामा र जहारसिंह लामाको पनि उपस्थिति रहेको थियो ।

यस्तै भीमफेदी गाउँपालिकाले पालिका भित्रका सबै चेपाङ समुदायको स्वस्थ्य विमा गरिदिएको छ । पालिकामा रहेका १ सय ४० चेपाङ परिवारका ५५९ जनाको स्वास्थ्य बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ । चेपाङ परिवारको स्वास्थ्य बीमाका लागि गाउँपालिकाले ५ लाख ३८ हजार २ सय रुपैयाँ खर्च गरेको छ ।