मनहरीमा दलित समुदायलाई पाडापाडी वितरण गरिँदै ।
मनहरीमा दलित समुदायलाई पाडापाडी वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले दलित समुदायका लागि आय मूलक कार्य गर्न सहयोग गरेको छ । पालिकाले विनियोजन गरेको ९ लाख पचास हजार बजेटबाट पालिकाको दलित समन्वय समिति मार्फत विभिन्न कार्य गरेको छ । आरन सुधारका लागि विनियोजन गरिएको २ लाख बजेटबाट एकथान वेल्डिङ मेसिन, १५ थान ग्रेन्डर र ३० थान बोयर वितरण गरिएको छ ।

यस्तै पाडापाडी वितरण कार्यक्रमअन्तर्गत ३ लाख ५० हजार रुपैयाँ बजेटबाट बीमा सहित १९ वटा पाडा वितरण गरिएको छ । ठेला व्यवसायका लागि १ लाख रुपैयाँमा ४ थान ठेला वितरण गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । नौमति बाजा कार्यक्रमका लागि विनियोजन गरिएको ५० हजार बजेटबाट सनै ४ थान, झुरुम्मा १ थान, टेम्को १ थान, ढोलकी १ थान र नरसिंह १ थान वितरण गरिएको छ । सिलाई कटाई मेसिनका लागि विनियोजन गरिएको ७५ हजार रुपैयाँ बजेटबाट ५ थान सिलाई मेसिन वितरण गरिएको छ ।

यस्तै दलित छात्रवृत्तिका लागि विनियोजन गरिएको १ लाख रुपैयाँ २० जना विद्यार्थीलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।