प्राधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि पिच निर्माण गरिदै

हेटौंडा: दोस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता आज मंगलबारबाट सुरु हुने भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता सुरु हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर क्रिकेट क्लब र क्रिकेट एकेडेमी मकवानपुर (क्यान) ११ बीच प्रतिस्पर्धा हुनेछ । मंगलबारै हुने दोस्रो खेलमा ओमनगर क्रिकेट क्लब र न्यू मर्निङ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डरअनुसार हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरका खेलाडीहरु सहभागी गराउन छनोट प्रतियोगिता आयोजना गरेको संयोजक पोखरेलले बताउनुभयो । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये पहिलो चरणमा १८ जना खेलाडी छनोट गरेपछि १४ जनालाई प्रारम्भिक सूचीमा राख्ने उहाँले बताउनुभयो ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई मकवानपुर जिल्ला क्रिकेट संघको नेतृत्वमा १ सातासम्म बन्द प्रशिक्षणमा राखिने उहाँले बताउनुभयो । जिल्लाबाट १४ जना छनोटमा पर्न सफल हुने खेलाडी प्रदेशको प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रदेश छनोटमा मकवानपुरसहित चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाको टिमको सहभागिता रहने उहाँले बताउनुभयो । प्रदेशस्तरीय छनोट प्रतियोगिता फागुनको दोस्रो साताबाट हुने उहाँले बताउनुभयो ।

प्रतियोगिता आयोजना गर्नका लागि ४ दिन पहिला नै पिच निर्माणको काम गर्न सुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्रिकेटको सबै प्रतियोगिताहरु हेटौंडाको हुप्रचौरमा हुने भएकाले टर्गसहितको पिच निर्माण गरिएको छ । प्राधनमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताको माध्यमबाट मकवानपुरका बायाँहाते तीब्र गतिका बलर रिजन ढकाल राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन सफल भएको उहाँले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि मकवानपुर क्रिकेट संघले १ हप्ता पहिला नै टिम दर्ता प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी भएका ६ वटा टिमहरुबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट खेलाडी छनोट गरेर प्रदेशमा सहभागी गराइने उहाँले बताउनुभयो । जिल्ला अध्यक्ष करण महतरा क्षेत्री, सचिव बिनोद बानियाँ र धिरज श्रेष्ठले खेलाडी छनोट गर्नुहुने उहाँले बताउनुभयो । प्रतियोगिता अयोजनाको क्रममा आर्थिक सहयोगमा लागि हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयसँग सहयोगको पहल गरेको संयोजक पोखरेलले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

हुप्रचौरको मैदानको संरचना निर्माण गर्नका लागि ६० देखि ७० हजार रुपैयाँको हाराहारीमा खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गत वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरबाट रिजन ढकालमात्र सहभागी भएको उहाँले बताउनुभयो । गत वर्ष सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लबले ओमनगर क्रिकेट क्लबलाई ३९ रनले पराजित गर्दै उपाधि उचाल्न सफल भएको थियो ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट व्याट्सम्यान, सर्वोकृष्ट बलरलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।