हेटौंडाः मकवानपुर जिल्लामा आत्महत्या चुनौतीपूर्ण बन्दै गएको छ । अवसाद (डिप्रेसन) र चिन्ता (एन्जाइटी) आत्महत्याका मुख्य कारण बनेका छन् । बालबालिकाले समेत आत्महत्यालाई जीवनको अन्तिम समाधानको रुपमा लिने गरेका छन् । हाँस्ने, खेल्ने, रमाउनु पर्ने उमेरमा धेरैले डरलाग्दो कदम चालिरहेका छन् । सकारात्मक पक्षलाई नकार्दै नकारात्मक पक्षलाई बढि ध्यान दिने गरेको पाइएको छ । आत्महत्या गर्नेमा बालबालिकाको संख्या वर्षेनि बढिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार विगत तीन वर्षमा ३५ जना बालबालिकाले आत्महत्या गरेका छन् । विगत तीन वर्षमा ४ सय २३ जनाले आत्महत्या गरेका छन् । तथ्याङ्कअनुसार २ सय ५६ जना पुरुष, एक सय ३२ जना महिला, १४ जना बालक र २१ जना बालिकाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा एक सय ४४ जनाले आत्महत्या गरी ज्यान गुमाएका छन् ।
आत्महत्या गर्नेमा ८७ जना पुरुष, ४९ जना महिला रहेका छन् भने ४–४ जना बालक–बालिका रहेका छन् । एक वर्षको अवधिमा ६० जना पुरुष, ३२ जना महिला, ४ जना बालक र ४ जना बालिकाको झुण्डिएका कारण मृत्यु भएको छ । यस्तै, २७ जना पुरुष र १७ जना महिलाले बिष सेबन गरेका थिए ।
गत आर्थिक वर्षको साउन महिनामा २२ जनाले आत्महत्या गरेका थिए । भदौ महिनामा १३ जना, असोज महिनामा ५ जना, कार्तिक महिनामा १३ जना, मंसिर महिनामा ४ जना र पुस महिनामा १३ जनाले आत्महत्या गरेका छन् । यस्तै, माघ महिनामा ६ जना, फागुन महिनामा १५ जना, चैत महिनामा १५ जना, बैशाख महिनामा ७ जना, जेठ महिनामा १८ जना र असार महिनामा १३ जनाले आत्महत्या गरेका हुन् ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा एक सय ५४ जनाले आत्महत्या गरेका थिए । ९६ जना पुरुष, ४३ जना महिला, ५ जना बालक र १० जना बालिकाले आत्महत्या गरेका थिए । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा एक सय २५ जनाले आत्महत्या गरेका छन् । ७३ जना पुरुष, ४० जना महिला, ५ जना बालक र ७ जना बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
आत्महत्या न्यूनीकरणका लागि जिल्ला, पालिका तथा वडा–वडामा सचेतना कार्यक्रमको आयोजना गर्नुपर्ने आवश्यकता देखिएको छ । आत्महत्या न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना भइरहदाँ पनि आत्महत्या कम हुन सकेको छैन । पारिवारिक द्वन्द्व, लागूऔषध दुव्र्यसन, प्रेमसम्बन्ध, साथीभाइमा दुश्मनी, नशामा रसायन घटबढ, विभिन्न प्रकारका समस्या, तनाव, मानसिक समस्या आत्मअत्याका कारण हुन् ।
हेटौंडा अस्पतालका मनोचिकित्सक विभागमा धेरै जना बिरामी अवसाद (डिप्रेसन) र चिन्ता (एन्जाइटी)का कारण आउने गरेका छन् । किशोरकिशोरीहरुमा मानसिक समस्या बढी मात्रामा दिखिने हेटौंडा अस्पतालका मनोचिकित्सक विशेषज्ञ डा. उद्धव लामाले जानकारी दिनुभयो । विभागमा उपचारका लागि आउने दैनिक औसत ३५ जना बिरामीमध्ये धेरै जना किशोरकिशोरी हुने उहाँको भनाइ छ । पहिलेजस्तो घुलमिल नहुने, केहि कुरामा इच्छुक नहुने, बाहिर नजाने, रमाइलो नगर्ने, अन्तरक्रिया कम गर्ने, समयमा नसुत्ने,नखाने, बढी रिसाउने यसका कारण भएको डा. लामाको भनाइ छ ।
यस्तो समस्या भएमा तुरुन्तै डाक्टरको सल्लाह लिन आवश्यक छ । धेरै जनामा औषधीले नराम्रो हुन्छ भन्ने भ्रम रहेको डा. लामाले बताउनुभयो । मानसिक समस्या भएका बिरामीलाई घरपरिवारको सहयोगले केहि मात्रामा सहयोग पुग्ने उहाँको भनाइ छ । डा. लामाका अनुसार उपचारमा ढिलाई भएमा औषधी जीवनभर खानुपर्ने हुनसक्छ । महिलाहरुको सम्बन्धमा मानसिक समस्या भएमा महिनावारीमा समेत यसले घटबढ गराउँछ ।
आत्महत्यालाई न्यूनीकरण गर्न जनचेतना जगाउन र परामर्श दिन धेरै आवश्यक भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले चालु आर्थिक वर्षमा आत्महत्या न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । गत आर्थिक वर्ष स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेकोमा चालु आर्थिक वर्ष स्वयम्सेविकाहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गर्ने कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
मानसिक स्वास्थ्यसम्बन्धी विद्यालयमा नर्समार्पmत् परामर्श प्रदान गर्ने उहाँले बताउनुभयो । जनस्वास्थ्य कार्यालयले प्रत्येक स्वास्थ्य संस्थाका एक जनालाई सामान्य मानसिक समस्याको औषधी प्रदान गर्ने तालिम दिएको छ । जसअनुसार स्वास्थ्यकर्मीहरुले निःशुल्क औषधी वितरण गर्ने गरेको घिमिरेले बताउनुभयो । आत्महत्यालाई न्यूनीकरण गर्न जनचेतना र परामर्श दिइरहेको उहाँको भनाइ छ ।
आत्महत्या न्यूनीकरण गर्न घरेलु हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम, सूचनामुलक कार्यक्रम गर्दै आएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिनुभयो । आगामी दिनहरुमा विभिन्न पालिका, मन्त्रालय तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । आत्महत्या न्यूनीकरणका कार्यक्रमलाई थप बढावा दिनुपर्ने उहाँको भनाइ छ । अहिले आर्थिक मन्दी, प्राकृतिक प्रकोप, मानसिक समस्याका कारण आत्महत्याको दर बढेको घलानले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालविकास महाशाखाकी निर्देशक विष्णुकुमारी लामिछानेले बालमैत्री कार्यक्रम र महिला सशक्तिकरण कार्यक्रममा महिला तथा बालबालिकाहरूलाई आत्महत्या न्यूनीकरण गर्नेसम्बन्धी विभिन्न कुराकानी गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले आत्मविश्वास बढाउने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेजस्ता विषयलाइ बढी जोड दिने गरेको छ ।
आत्महत्यासम्बन्धी कुनै ठोस कार्यक्रम नगरे पनि अन्य कार्यक्रममा लैङ्गिक हिंसा, घरेलु हिंसा, आत्महत्या, लागूऔषधजस्ता विषयलाई समेट्ने उहाँको भनाइ छ । अहिले धेरै बालिकाहरु घर छोडेर जाने कुरालाई मध्यनजर गर्दै बालबालिकाहरूलाई सचेत गराउने र हौसला प्रदान गर्ने लामिछानेले बताउनुभयो ।