हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाले शिक्षक बैंकका लागि खुल्ला गरेको आवेदनको लिखित परीक्षा १३, १४ र १५ गते हुने भएको छ । ७० जना शिक्षकका लागि गाउँपालिकाले माग गरेको आवेदनमा १ सय २८ जनाले दोस्रो चरणको लिखित परीक्षा दिने गाउँपालिकाका शिक्षा शाखाका प्रमुख आइतराम तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाले ५० जना प्रावि शिक्षक, १०–१० जना निमावि र मावि विषय गत शिक्षकका लागि आवेदन खुलाएको थियो । ७० शिक्षक पदका लागि ४ सय ४५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पहिलो परीक्षा जेठ २५ गते संचालन भएको थियो । जसमा प्राविबाट ७९ जना, निमाविबाट २५ जना र माविबाट २४ जना गरी १ सय २८ जना दोस्रो परीक्षाका लागि सफल भएको शिक्षा शाखा प्रमुख तामाङले जानकारी दिनुभयो । दोस्रो चरणको लिखित परीक्षाअन्तर्गत मावि तहको परीक्षा साउन १३ गते, निमावि तहको परीक्षा साउन १४ गते र प्रावि तहको परीक्षा साउन १५ गते संचालन हुनेछ । गाउँपालिका अन्तर्गतको विद्यालयमा अहिले गणित र विज्ञानका २५ जना शिक्षक आवश्यक रहेको जनाएको छ ।
गाउँपालिकाले कुनै विषयको शिक्षक विदामा बस्नुपर्दा र उपस्थित हुन नसकेको समयमा पनि विद्यार्थीको पठनपाठन र परीक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले शिक्षक बैंक स्थापना गर्न लागेको जनाएको छ । गाउँपालिकाले आवेदकको परीक्षा लिएर उत्तीर्णहरुमध्येबाट शिक्षक प्रतिक्षा सूची तयार गर्ने र विद्यालयमा कार्यरत शिक्षक लामो समय बिदामा बस्दा बिदा अवधिभर उक्त प्रतिक्षा सूचीमा सूचीकृत शिक्षकलाई गाउँपालिकाले खटाउने शिक्षा शाखा प्रमुख आइतराम तामाङले बताउनुभयो । बकैया गाउँपालिकामा ५३ वटा प्राथमिक विद्यालय, ११ वटा निम्न माध्यमिक र १२ वटा माध्यमिक तहका विद्यालय छन् । चालु शैक्षिक सत्रमा बकैया गाउँपालिकाका ७६ वटा विद्यालयमा ८ हजार ३ सय ८३ जना विद्यार्थी अध्ययनरत छन् ।