हेटौँडा अस्पतालमा नवजात शिशुलाई हेर्दै बाबु ।

हेटौँडाः २० बर्ष कम उमेरका किशोरकिशोरीहरु आमाबाबु बनिरहेका छन् । खेलेर रमाउनुपर्ने उमेरमा किशोरीहरु बच्चा जन्माई आमा बनिरहेका छन् । किशोरीहरु आमा बनिरहँदा विभिन्न चुनौति देखिइरहेका छन् ।

गत आर्थिक बर्ष २०८०/०८१ मा हेटौँडा अस्पतालमा प्रसूति सेवा लिएकामध्ये २ सयभन्दा बढि किशोरी छन् । २० बर्ष भन्दा कम उमेर समूहका २ सय ४५ जना किशोरीहरु आमा बनेको हेटौँडा अस्पतालको तथ्याङ्कले देखाएको हो । हेटौंडा अस्पतालमा मकवानपुर जिल्लाका मात्र नभई अन्य जिल्लाका किशोरीहरु पनि गर्भवती भई प्रसुती सेवा लिन आउने गरेका छन् ।

गत आर्थिक बर्षको साउन महिनामा २७ जना किशोरीहरु आमा बनेका थिए । यस्तै, भदौ महिनामा २५ जना, असोज महिनामा ३३ जना र कार्तिक महिनामा २२ जना किशोरी आमा बनेका थिए । हेटौँडा अस्पतालबाट प्रसुती सेवा लिनेमध्ये मंसिर महिनामा २३ र पुस महिनामा १२ जना किशोरीले शिशु जन्माएका हुन् । यस्तै, माघ महिनामा १६ जना, फागुन महिनामा १७ जना, चैत महिनामा २० जना, बैशाख महिनामा १९ जना र जेठ महिनामा १३ जना किशोरी आमा बनेका छन् ।

असार महिनामा हेटौंडा अस्पतालबाट प्रसूती सेवा लिएका २ सय ४१ जनामध्ये १८ जना किशोरी रहेका छन् । एक महिनाको अवधिमा १८ जना किशोरी आमा बनेको हेटौंडा अस्पतालले जानकारी दिएको छ । अस्पतालमा सुत्केरी भएकामध्ये ७९ जना महिलाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १० जना महिलाको जटिल अवस्थामा बच्चा निकाल्नु पर्दा एकसय ५२ जनाले सामान्य अवस्थामा बच्चा जन्माएका छन् । २ सय ४१ जना आमाहरुले एकसय २८ जना बालक र एकसय १३ जना बालिकालाई जन्म दिएका छन् । हेटौंडा अस्पतालबाट गत असारमा १५ जना महिलाले गर्भपतन गराएको अस्पतालले जनाएको छ ।